कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
603

देशभर सञ्चालनमा रहेका सहकारी संस्थाहरुको निक्षेप साढे तीन खर्ब रुपैयाँ पुगेको छ । सहकारीको संख्या वृद्धिसँगै सहकारीहरुको कारोबार रकम पनि बढेको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७६-०७७ को फागुनसम्म सहकारी क्षेत्रमा ३ खर्ब ५० अर्ब ५८ करोड बचत परिचालन भएको छ । आर्थिक वर्ष २०७५-०७६ सोही अवधिमा सहकारीको ३ खर्ब ४५ अर्ब ५४ करोड बचत परिचालन भएको थियो । एक वर्षको अवधिमा बचत परिचालन सहकारी क्षेत्रमा ५ अर्बले बढेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६-०७७ को फागुनसम्म सहकारी क्षेत्रमा ३ खर्ब ४१ अर्ब ७१ करोड ऋण परिचालन भएको छ । एक वर्षको अवधिमा ४ अर्ब ऋण परिचालन बढको छ ।
यसैगरी सहकारी क्षेत्रले ६८ हजार ४ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । देशभर ३४ हजार ८ सय ३७ सहकारी रहेका छन् । ती सहकारीहरुमा ७७ अर्ब २४ करोड सेयर पुँजी रहेको छ । सहकारीमा ६५ लाख १५ हजार ४ सय ६० जना आवद्ध रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
संविधानको व्यवस्था अनुसार सहकारीको दर्ता तथा नियमनको अधिकार स्थानीय तहसम्म प्रदान गरिएको छ । जसअनुसार स्थानीय तहभित्र कार्यक्षेत्र हुने सहकारीको सोहि तहले, एक स्थानीय तहभन्दा बढि कार्यक्षेत्र हुने सहकारीहरुको प्रदेश सरकारले र अन्तर प्रदेश कार्यक्षेत्र रहेको सहकारीको भने संघीय सरकारले दर्ता तथा अनुगमन गर्ने व्यवस्था गरिएको छ ।
संघीय सरकारले सहकारीहरुको अभिलेख स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरेपनि सहकारीको नियमन प्रभावकारी हुन सकेको छैन । सहकारीको अनुगमन प्रभावकारी हुन नसक्दा सहकारीमा जोखिम समेत बढ्दै गएको छ ।