कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
738

विश्व बैंक अन्तर्गतको आइएफसीले कोरोनाको महामारीबाट सिथिल नेपाली निजी क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजना गरिएको वेविनारमा बोल्दै अन्र्तराष्ट्रिय वित्त निगम (आईएफसी) का नेपाल, बंलादेश र भुटानका लागि राष्ट्रिय प्रवद्र्धक वेण्डी वर्नरले सो कुरा बताएकी हुन् । हालको कोरोनाको कठिन परिस्थितिमा नेपालका निजी क्षेत्रको भूमिका र आइएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने वर्नरले बताएकी हुन् ।

कोरोनाको सुरुवातबाट नै नेपालका पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको बताउँदै यसको असर भविष्यमा पनि केही समय रहिरहने बताएकी छिन् । उनको भनाइमा आइएफसीले अन्तर्राष्ट्रिय स्तरमा निजी क्षेत्रको पार्टनरको रुपमा काम गर्दै आएको छ ।
नेपालमा निजी क्षेत्रको इक्विटी लगानीकर्ताका रुपमा मात्र नभई आइएफसीले वृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने जनाएकी छिन् ।
आइएफसीले विश्वव्यापी रुपमा कोरोनाको संक्रमणबाट आर्थिक क्षतिसँग जुध्न पहिलो चरणमा कुल ८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ । यसबाट तीन सय संघसंस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ ।
नेपालमा निजी क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीहरुलाई आइएफसीले सहयोग गर्दै आइरहेको छ । यस वर्ष लगायत साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले जनाएकी छिन् ।
कोरोनबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यस वर्षको अन्तिम सम्म आइएफसीको नेपालमा लगानी ०.५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने पनि वर्नरले जनाएकी छिन् । सन् २०२३ सम्ममा आइएफसीले नेपालका निजी क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको जनाइएको छ ।