कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
521

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले दीगो विकास लक्ष्य (एसटीजी) को पूरा गर्न सहकारीको भूमिका प्रभावकारी हुने बताएका छन् ।
दीगो विकास लक्ष्यको स्वच्छिक राष्ट्रिय समिक्षा प्रतिवेदन (भीएनआर) को तयारीका सन्दर्भमा सहकारी अभियानसँग भर्चुअल परामर्श गर्दै उनले १५ औं योजनाको आत्माभित्र सहकारी रहेको बताए । उनले कोरोना भाइरसको महामारीका कारण दीगो विकास र १५ औं योजनाका लक्ष्यमा असर गरेको र त्यसलाई न्यूनीकरण गर्न तथा अर्थतन्त्रको पुनर्रउत्थान गर्न उपयुक्त योजना कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने बताए ।

कँडेलले स्थानीय तहलाई उत्पेरित गर्न समेत सहकारीले भूमिका खेल्न सक्ने औल्याउँदै अगामी वर्ष सबै स्थानीय तहलाई योजना बनाउन उत्प्रेरित गर्ने तयारी भएको समेत जानकारी दिए ।
नेपालले दोस्रो पटक यो प्रतिवेदन प्रस्तुत गर्न लागेको हो । नेपालले दीगो विकास लक्ष्य प्राप्तिका लागि के कस्ता कार्य गरिरहेको छ भन्ने विषय र अहिले एसडीजी हासिलको कुन क्रममा नेपाल छ भन्ने विषय रिपोर्टमा समेटिने उल्लेख छ । राष्ट्रिय सहकारी महासंघले योजना आयोगले गठन गरेको विभिन्न कमिटीमा रहेर आफ्नो योगदान दिइरहेको छ भने सहकारमिार्फत दीगो विकास लक्ष्य कार्यान्वयन गर्ने वातावरण निर्माणका लागि महत्वपूर्ण भूमिका समेत खेल्दै आएको छ । नेपालले एसडीजी हासिलका लागि ४७९ वटा सूचकांक तय गरेको भए पनि कोरोना भाइरसका कारण कार्यान्वयनमा प्रभाव परेको छ ।
छलफलमा योजना आयोगका सदस्य मिनबहादुर शाहीले दीगो विकास लक्ष्य प्राप्तिको मुख्य पार्टनरका रुपमा सहकारी रहेको बताए ।
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी एसडीजीका १७ वटै लक्ष्य प्राप्तिका लागि काम गर्न सक्ने क्षेत्र भएको र त्यसका लागि सुरुवातदेखि नै महासंघले सहकारीमार्फत दीगो विकासका लक्ष्य हासिल गर्नका लागि योजनावद्ध रुपमा कार्य गरिरहेको बताए ।
निवर्तमान अध्यक्ष केशव बडालले उत्पादक शक्तिलाई उत्साहित बनाउन, भूमिहिन श्रमिकलाई खेतीमा संलग्न गराउन, खेतीयोग्य जमिनमा उत्पादन वृद्धि गर्नका लागि सहकारीको भूमिका रहँदै आएको बताए । उनले विभेदको अन्त्य गर्ने, मर्यादित काम र आर्थिक वृद्धि, उत्तरदायी उपभोक्ता र उत्पादनका लागि सहकारीको मूख्य भूमिका रहने बताए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले प्राविधिक जनशक्ति र सहकारीको उद्योगलाई आधिकारी कानूनी मान्यता प्राप्त हुन सकेको खण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै कृषि सहकारीबाट २५२ वटा उद्योग सञ्चालन भएको ५० उद्योग निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए । उनले बीउ प्रशोधन उद्योग, आधुनिक नर्सरी, मल उद्योग स्वदेशमा सहकारीमार्फत सञ्चालन गर्न सके देश आत्मनिर्भर हुने बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालक केवी उप्रेतीले कोरोना महामारीको प्रभावका कारण एसडीजीको प्राथमिकताका क्षेत्र परिवर्तन गर्न पुर्नमूल्यांकन गर्नुपर्ने आवश्यक्ता औल्याए । रोजगारी सिर्जना, उतपादन वृद्धि, वित्तीय व्यवस्थापन, साक्षरता र परिचालनमा सहकारीको योगदान रहेको र बैंकले २५ अर्ब लगानी गरिरहेको जानकारी दिए ।
महासंघका सञ्चालक तथा नेपाल केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष नारायण देवकोटाले संघमार्फत २५ वटा साना दुग्घ उद्योगले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गरेर ग्रामिण अर्थतन्त्रलाई सवल बनाउने कार्य गरेको बताए ।
नेपाल केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले मौरी संरक्षण भएको खण्डमा मात्र मानव अस्तित्व रहने भएकाले मौरी मैत्री विरुवा लगाउने, विदेशबाट फर्कने श्रमिकलाई सहकारी कृषिमा आवद्ध गराउँदै नयाँ स्वरुपबाट काम गर्दा दीगो विकास लक्ष्य हासिल हुने बताए ।
केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले गरिवी न्युनिकरणका लागि किसानलाई चिया खेतीमा आवद्ध गरेर, उद्योग स्थापना गरेर, रोजगारी सिर्जना गरी आर्थिकस्थिति सुधारका कार्य संघले गरेको जानकारी दिए ।