एनआईसी एसियाको समुन्नति खाता र धनवर्षा खाता योजना चैत २ गतेदेखि बन्द
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४
748

एनआईसी एसिया बैंकले फागुन ११ देखि सञ्चालनमा ल्याएको समुन्नति प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ वर्षे धनवर्षा मुद्दती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत चैत २ गते शुक्रबारसम्म मात्र नयाँ खाता खोल्न सकिने बताएको छ । तत्पश्चात् उपरोक्त उल्लेखित दुवै योजनाहरू बन्द गरिने भन्दै बैंकले हालै सिर्जित असहज परिस्थितिले गर्दा उपरोक्त उल्लेखित दुवै योजनाहरूलाई ग्राहकको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजनाबमोजिम निरन्तरता दिन असमर्थ भएकोमा असुविधाका लागि बैंकले क्षमा मागेको छ । ‘धनवर्षा मुद्दती खाता’ (वार्षिक ब्याजदर १२ प्रतिशत) र ‘समुन्नतिप्लस बचत खाता’ (वार्षिक ब्याजदर १० प्रतिशत) योजना सञ्चालनमा ल्याएकोमा उक्त योजनाले आमजनमानसमा अत्यन्त लोकप्रियता हासिल गरेको भए तापनि विगत केही दिनयता नेपाल बैंकर्स संघ र बैंकबीच ब्याजदरसम्बन्धी विविध विषयहरूमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वांगिण हित हुने गरी हल गरेर जानुपर्छ भन्ने आमधारणा रहेको महसुस गर्दै सार्थक तथा जनउत्तरदायी एवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरकाविच वर्तमानको असहज परिस्थिति र आवश्यकता समेतलाई मध्यनजर गर्दै बैंकले उक्त योजना बन्द गर्न लागेको जनाएको छ ।
बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत (सूचनाअधिकारी) सुधीरनाथ पाण्डेका अनुसार बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १ सय ८३ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १ सय ८५ एटीएमसहित मुलुककै सबैभन्दा बढी एटीएम सञ्जाल भएको बैंकसमेत बन्न सफल भएको छ । बैंकको वासलातको आकार १४८ अर्बभन्दा बढी पुगेको छ भन्दै बैंकले आफ्नोे कुल कर्जा करिब १०४ अर्ब र कुलनिक्षेप करिब १२४ अर्ब रुपैयाँ पुगिसकेको पनि जनाएको छ ।