कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
451

पोखरा- एनआईसी एसिया बैंकले २ लाख ५० हजार रुपैयाँबराबरको राहत सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशको कावासोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदुरी गर्ने १ सय ५० परिवारलाई स्थानीय सरकारसँगको सहकार्यमा उक्त रुपैयाँबराबरको राहत सामग्री सहयोग गरेकोे बैंकका प्रादेशिक प्रमुख दीपेन्द्र शर्माले बताए ।
बैंकले चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरू सहयोग गरेको हो । बैंकका गण्डकी प्रदेशस्थित उपप्रादेशिक कार्यालय प्रमुख अशोक पन्तले कावासोती नगरपालिकी प्रमुख चन्द्रा पुनलाई ५० हजार रुपैयाँबराबर तथा बैंकको गण्डकी प्रदेश कार्यालय प्रमुख दीपेन्द्र शर्माले पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई २ लाख रुपैयाँबराबरको खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेका हुन् ।
गण्डकी प्रदेशका अन्य जिल्लामा समेत करिब ५ लाख रुपैयाँबराबरको खाद्यान्न सामग्री आगामी दिनमा वितरण गरिने शर्माले जनाए । बैंकले यसअघि काठमाडौं तथा प्रदेश १ मा ज्याला मजदुरी गर्नेहरूका लागि ५÷ ५ लाख रुपैयाँ तथा सुदुरपश्चिम प्रदेशमा ३ लाख ७५ हजार रुपैयाँबराबरको खाद्यान्न सामग्रीसमेत वितरण गरेको बैंकले जनाएको छ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरूलाई लकडाउनका कारण खाद्यान्न अभाव भएपछि बैंकले उक्त सहयोग गरेको हो ।
विसम परिस्थितिमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको शर्माले दाबी गरे । ‘कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले घरबाटै बसेर निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।