कारोबार संवाददाता
बुधवार, चैत्र १९, २०७६
940

सरकारले लकडाउन घोषणा गरेसँगै बन्द भएका बचत तथा ऋण सहकारी संस्थाहरूले सम्पर्क अधिकृत तोकेर सदस्यलाई वित्तीय सेवा दिन थालेका छन् ।
नियमनकारी निकाय सहकारी विभागले स्थानीय प्रशासनसँग समन्वय गर्दै लकडाउनको अवधिमा पनि सेवा दिन निर्देशन दिएपछि संस्थाहरूले अप्ठेरो परेका सदस्यलाई सेवा दिन थालेका हुन् । संस्थाहरूले कार्यालय नखोले पनि अप्ठेरो परेका सदस्यलाई सेवा दिने भन्दै सम्पर्क व्यक्ति तोकेर सूचना जारी गरेका छन् ।

लकडाउन घोषणा गर्नुअघि नै तरलता अभावका कारण सहकारीहरू बन्द हुन थालेका थिए । यसैगरी केही संस्थाहरूले बचत फिर्ताका लागि सीमा तोक्न थालेका थिए ।
लकडाउन घोषणा गरेपछि भने संस्थाहरू पूर्णरूपमा बन्द भएका थिए । अर्थमन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरिय वित्तीय समन्वय समितिले बैंकिङ, बिमा, धितोपत्र, कम्पनी कार्यालय र बचत तथा ऋण सेवा सञ्चालन गर्ने निर्णय गरेपछि सहकारी विभागले आइतबार सदस्यको जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाह गर्न तथा खाताहरू सञ्चालन गर्न निर्देशन दिएको थियो ।
विभागको निर्देशनअनुुसार संस्था खोलेर सेवा दिन नसकिने भन्दै यसबारेमा सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालसहित बैठक भएको थियो । बैठकमा सहकारीले संक्रमणको जोखिम, कर्मचारीको स्वास्थ्य, तरलताको अवस्थालाई हेरेर अत्यावश्यक सेवा पु¥याउने सहमति भएको थियो । उक्त सहमतिअनुसार सोमबारबाट सम्पर्क व्यक्ति तोकेर सेवा उपलब्ध गराउन थालेका हुन् ।
“संस्थाहरूले विभिन्न उपायबाट पनि सदस्यहरूलाई अत्यावश्यक सेवा उपलब्ध गराउन थालेका छन् ।” नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले भने ।
आइतबारबाटै सहकारीलाई होलसेलमा वित्तीय सेवा दिने राष्ट्रिय सहकारी बैंकले मुख्य र प्रादेशिक कार्यालयबाट सेवा दिन सुरु गरेको छ । यसैगरी नेफ्स्कुनले अत्यावश्यक अवस्थामा सेवा दिने भनेर सम्पर्क अधिकृत तोकि सार्वजनिक सूचना जारी गरेको छ । प्रारम्भिक संस्थाहरूले पनि सदस्यलाई आवश्यकताको आधारमा सीमित नगद दिने भन्दै सम्पर्क अधिकृत तोकेको छन् ।
यस्तै कृषि सहकारीहरूले दैनिक उपभोग्य सामानहरूको बिक्रीमा समेत सहजीकरण गर्न थालेका छन् । सरकारले विद्युतीय कारोबारमा प्रोत्साहन गरे पनि एकाध सहकारीमा मात्र एटिएम, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।
भौतिक रूपमा नगदै कारोबार गर्ने सहकारीहरूले सेवा सञ्चालन नगर्दा सहकारीका सदस्यहरू अत्यावश्यक काममा लागि समेत नगद निकाल्न पाएका छैनन् ।
हाल देशभर ३५ हजार सहकारीमध्ये ६० प्रतिशतले वित्तीय सेवा दिँदै आएका छन् । वित्तीय क्षेत्रमा सहकारीको हिस्सा २५ प्रतिशत छ ।