यादव हुमागाई
मंगलबार, चैत्र १८, २०७६
8297

सहकारी विभागको निर्देशनअनुसार सेवा सञ्चालन गर्न नसकेपछि सञ्चालकहरू विभागीय मन्त्रीको शरणमा पुगेका छन् । विभागले आइतबार ६ बुँदे निर्देशन जारी गर्दै सहकारी संस्थालाई सदस्यको जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाह गर्न एवं सबै प्रकृतिका खाताहरू सञ्चालन गर्न निर्देशन दिएको थियो ।
विभागको निर्देशनअनुुसार संस्था खोलेर सेवा दिन नसकिने भन्दै यसमा लचिलो व्यवस्था गरिदिन आग्रह गर्दै सञ्चालकहरू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालकहाँ पुगेका हुन् ।

सोमबार मन्त्री अर्यालले मन्त्रालयका सचिव केदार न्यौपाने, विभागका रजिष्ट्रार टोकराज पाण्डेका साथै सहकारी नेताहरूसँग सेवा प्रवाहबारे छलफल गरेकी थिइन् । छलफलमा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल र कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक तथा केन्द्रीय स्वास्थ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डे सहभागी थिए ।
छलफलमा सहकारीकर्मीले विभागको निर्देशनअनुसार सबै प्रकारका वित्तीय सेवा सञ्चालन गर्न नसकिने बताएका थिए । कोरोना संक्रमणको त्रास र लकडाउनका कारण संस्था सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ थियो । “हाम्रा सदस्यहरूलाई अत्यावश्यक सेवा उपलब्ध गराउछौं,” नेफ्स्कूनका अध्यक्ष पौड्यालले भने, “तर विभागको निर्देशनअनुसार सबै प्रकारको सेवा सञ्चालन गर्न सकिँदैन ।” अहिले पनि संस्थाहरूले अप्ठेरो परेका सदस्यहरूलाई सेवा दिएको र सोहीअनुसार सेवा अघि बढाउने छलफल भएको उनले जानकारी दिए ।
यसैगरी, विभागको निर्देशनले बजारमा देखिएको द्विविधा हटाउनका लागि मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्ने सहमति पनि छलफलमा भएको छ । सहकारीहरूले अहिले दिएअनुसार नै सेवा दिनसक्ने गरि महासंघले सूचना जारी गरी बजारको अन्योल हटाउने सहमति भएको छ ।
विभागले आइतबार जारी गरेको निर्देशनमा स्थानीय प्रशासनसँग समन्वय गर्दै सबै प्रकृतिका खाताहरू सञ्चालन गर्न, सदस्यहरूको जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाह गर्न, उत्पादन र उपभोक्ता सहकारीहरूले उत्पादित सामग्रीको सहज वितरणको व्यवस्था मिलाउन, स्थानीय स्तरमा सचेतना फैलाउन र विमारीलाई अस्पताल पु¥याउन समेत सहजीकरण गर्न भनेको थियो ।
कोरोना संक्रमणको त्राससँगै बजारमा आर्थिक कारोबार सुस्ताएपछि चैत सुरुदेखि नै सहकारीमा बचत फिर्ता गर्न रकम हुन थालेको थियो । त्यसपछि सरकारले अत्यावश्यक सेवाबाहेकको सेवा बन्द गरेपछि केहि संस्थाहरू पनि कारोबार बन्द गर्न थालेका थिए ।
लकडाउन घोषणा गरेपछि भने सबै सहकारी संस्थाहरूले कारोबार बन्द गरेका छन् । कारोबार बन्द भएपछि सहकारीबाट सेवा लिने सर्वसाधारण भने वित्तीय सेवाबाट बञ्चित भएका छन् । अर्थमन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय वित्तीय समन्वय समितिले बैंकिङ, बिमा, धितोपत्र, कम्पनी कार्यालय र बचत तथा ऋण सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार विभागले छुट्टै निर्देशन जारी गरेपछि सहकारीका सञ्चालकहरू तर्सिएका छन् ।
आइतबारबाटै सहकारीलाई होलसेलमा वित्तीय सेवा दिने राष्ट्रिय सहकारी बैंकले मुख्य र प्रादेशिक कार्यालयबाट सेवा दिन सुरु गरेको छ । यसैगरी नेफ्स्कूनले अत्यावश्यक अवस्थामा सेवा दिने भनेर सम्पर्क अधिकृत तोकी सार्वजनिक सूचना जारी गरेको छ । यसैगरी केहि प्रारम्भिक संस्थाहरूले पनि सदस्यलाई आवश्यक्ताको आधारमा सीमित नगद दिने भन्दै सम्पर्क अधिकृत तोकेको छन् ।
यस्तै, कृषि सहकारीहरूले दैनिक उपभोग्य सामानहरूको बिक्रीमा समेत सहजीकरण गर्न थालेपछि बचत तथा ऋण कारोबार गर्ने सहकारीको सेवा भने ठप्प प्रायः छ ।
बैंकहरूले ग्राहकलाई विद्युतीय कारोबारमा प्रोत्साहन गर्दै आएका छन् । तर, एकाध सहकारीले मात्र एटीएम, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएका छन् । भौतिक रूपमा नगदै कारोबार गर्ने सहकारीहरूले सेवा सञ्चालन नगर्दा सहकारीका सदस्यहरू अत्यावश्यक काममा लागि समेत नगद निकाल्न पाएका छैनन् । हाल देशभर ३५ हजार सहकारीमध्ये ६० प्रतिशतले वित्तीय सेवा दिदै आएका छन् । वित्तीय क्षेत्रमा सहकारीको हिस्सा २५ प्रतिशत रहेको छ ।
बैठकमा मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरूको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरूबाट चलाइएका एम्बुलेन्सहरू बिरामीको ओसारपसारमा परिचालन गर्न निर्देशन दिएकी छिन् । यस्तै, मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरू आंशिक रूपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरू प्रवाह गर्न, सेयर सदस्यहरूको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर शेयर सदस्यहरूलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन समेत निर्देशन दिएकी हन् ।
बैठकले राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा परितोष पौड्याल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का रहेका छन् ।