कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६
677

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकार र बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङलाई प्रोत्साहन गरिरहेका बेला यसतर्फ सर्वसाधारणको आकर्षण समेत बढिरहेको देखिएको छ । प्रविधिको विकास र यसमा सर्वसाधारणको पहुँच बढ्दै गएकाले डिजिटल बैंकिङ सेवातर्फ सर्वसाधारण आकर्षित देखिएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार एटीएम कार्डदेखि पछिल्लो समयमा वालट पेमन्टजस्ता बैंकिङ सेवा प्रयोगकर्ताको संख्या बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाका अतिरिक्त ई—सेवा, आई—पे, प्रभु पे, खल्ती पसललगायतका बिभिन्न कम्पनीहरूले समेत अनलाईनमार्फत विभिन्न क्षेत्रमा भुक्तानी गर्न सकिने सुविधाहरू उपलब्ध गराएपछि आधुनिक बैंकिङ सेवाका प्रयोगकर्ता बढेका हुन् । आधुनिक बैंकिङ सेवामध्ये सबैभन्दा बढि मोबाइल बैंकिङमा सर्वसाधारणको आकर्षण देखिएको छ ।
२०७७ माघसम्म बैंक तथा वित्तीय संस्थामा तीन करोड निक्षेप खाता रहेकोमा त्यसको एकतिहाइले मोबाइल बैंकिङ उपयोग गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार चालु आवको माघसम्म मोबाइल बैंकिङ सेवा लिनेको संख्या ९८ लाख रहेकोमा बाणिज्य बैकबाट ८६ लाख ७९ हजार, विकास बैंकबाट १० लाख ४९ हजार र फाईनान्स कम्पनीहरूमा ७७ हजार रहेका छन् । मोबाइल बैंकिङपछि सर्वसाधारणको आकर्षण बैंकहरूले जारी गरेका कार्डहरूमा छ । बैंकबाट विभिन्न प्रकारका कार्ड लिने ग्राहकहरूको संख्या ७४ लाख २६ हजार रहेका छन् ।

डेविड कार्ड प्रयोकर्ताको संख्या सबैभन्दा बढि ७२ लाख १५ हजार छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ता १ लाख ४६ हजार र प्रिपेड कार्ड प्रयोगकर्ता ६३ हजार रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार एटिएम काउन्टरको संख्या पनि २०७४ माघमा तीन हजार ६२६ वटा पुगेको छ । सो मध्ये बाणिज्य बैकहरूको तीन हजार २७४, बिकास बैंकहरूको ३३७ र फाईनान्स कम्पनीहरूको ५१ एटिएम काउन्टरहरू सञ्चालनमा रहेका छन् । यसैगरी इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि २०७७ माघसम्ममा ९ लाख ६९ हजार रहेको छ । त्यसमध्ये ९ लाख ३३ हजार बाणिज्य बैंकका, २९ हजार विकास बैंकका र ५ हजार फाइनान्स कम्पनीका सेवाग्राही रहेका छन् ।
भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न राष्ट्र बैंकले २०७२ असारमा छुट्टै भुक्तानी प्रणाली विभागको स्थापना गरे नियमन गर्दै आएको छ । यससम्बन्धी छुट्टै ऐन निर्माणका साथै गैरवैंक तथा वित्तीय संस्थालाई समेत भुक्तानी सेवा प्रदान गर्न अनुमति दिदै आएको छ । पछिल्लो समय सर्वसाधारणले एक खाताबाट अर्को खाताका रकम प्रदान गर्न, खानेपानी, विद्युत, टेलिफोनलगायतका युटिलिटि पेमेन्ट, सपिङलगायतमा कारोबार डिजिटल्ली गर्न थालेका छन् ।
पछिल्लो समय सरकारले कोरोना संक्रमण रोक्न देशलाई लकडाउन गरेसँगै विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंकहरूले यो सेवा निशुल्क बनाएका छन् । यसबाट विद्युतीय कारोबार आगामी दिनमा अझै बढ्ने देखिन्छ ।

 
विद्युतीय भुक्तानी सेवाग्राहीको संख्या
मोबाइल बैंकिङ–९८ लाख ६ हजार २३७
डेबिट-क्रेडिट-प्रिपेड कार्ड – ७४ लाख २६ हजार २७७
इन्टरनेट बैंकिङ– ९ लाख ६९ हजार ५५