कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
338

झापाको बिर्तामोडमा प्रमुख कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्य क्षेत्र भित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न उपलब्ध गराउने भएको छ ।
सहारा नेपाल कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराइने सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । संस्थाले प्रदेश–१का ६ वटा जिल्लामा कार्य क्षेत्र विस्तार गरेको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर जिल्लामा स्थापित क्वारेन्टाइन गृहमा रहेका कोरोना शंकास्पद व्यक्तिका लागि चामल, दाल, तरकारी लगायत खाद्य वस्तु उपलब्ध गराउने प्रमुख गिरीले बताए ।
प्रत्येक जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा सहाराले अधिकतम् २० लाख रुपैयाँसम्मको खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो । “संस्थाका कर्मचारीहरुको स्वतःस्फुर्त कार्यक्रम अनुसार प्रत्येक कर्मचारीले एक दिनको तलब बराबरको रकम सहारा नेपाल कर्मचारी मानवीय कोषमा थप गर्नु हुनेछ” गिरीले भने, “सोही रकमबाट क्वारेन्टाइनमा रहनुपर्ने शंकास्पद बिरामीका लागि खाद्य सामग्री प्रदान गरिनेछ ।” खाद्यान्न उपलब्ध गराउने विषयमा प्रदेश सरकार मातहत रहेको विपत व्यवस्थापन समितिसँग सम्वन्य भइरहेको गिरीले जानकारी दिए ।