कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
393

नेपाल राष्ट्र बैंकले मोवाइल, इन्टरनेट तथा वालेटमार्फत हुने बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नका लागि कारोबार रकमको सीमा खुकुलो बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेकका क्षेत्र बन्द गर्न भनेसँगै बैंकहरुले पनि विद्युतीय भुक्तानीलाई प्राथमिकता दिनु पर्ने सुझाव दिँदै आएका थिए ।
बैंक वित्तीय संस्था छाता संगठनले पनि विद्युतीय कारोबारको माग गरेसँगै कोरोना भाइरसको संक्रमण हुनबाट नियन्त्रण गर्नका लागि नगदको कारोबार भन्दा पनि विद्युतीय कारोबारलाई प्रोत्साहान गर्नु पर्ने भनेपछि आइतबार केन्द्रीय बैंकले विद्युतीय कारोबारको सीमा बढाएको हो ।
केन्द्रीय बैंकले मोवाइल बैंकिङ मार्फत दैनिक एक लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि ग्राहकले मोवाइलमार्फत दैनिक ५० हजार र मासिक एक लाख रुपैयाँको मात्र भुक्तानी गर्न सक्ने व्यवस्था थियो ।
केन्द्रीय बैंकका अनुसार इन्टरनेट बैंकिङमार्फत ग्राहकले दैनिक १० लाख र मासिक ३० लाख कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा प्रतिदिन १० लाख तथा ५० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था छ ।
वालेटको माध्यबाट कारोबार गर्दा एजेन्ट वा सव एजेन्टबाट बालेटमा प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिनामा एक लाख रुपैयाँसम्म राख्न सकिनेछ । त्यसैगरी बैंक खाताबाट बालेटमा ट्रान्सफर गर्दा प्रतिकारोबार २५ हजार, एक दिनमा एक लाख र मासिक ५ लाख रुपैयाँसम्मको गर्न सकिने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले बालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ५ लाख रुपैयाँ राख्न सकिने व्यवस्था गरेको छ । एक वालेटबाट अर्को वालेटमा प्रतिकारोबार २५ हजार प्रतिदिन एक लाख र प्रतिमहिनामा ५ लाख रुपैयाँ ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको हो ।
बैंक वित्तीय संस्थाका छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्तीय कम्पनी संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै नगद भन्दा पनि विद्युतीय कारोबारलाई जोड दिन अनुरोध गरेका थिए । एटिएममार्फत कारोबार गर्दा सेवा शुल्क नलाग्ने, विद्युतीय माध्यमबाट गरीने वित्तीय कारोबारलाई निशुल्क बनाउने निर्णय ती संस्थाहरुले गरिसकेका छन ।


कमचारीलाई कार्यालय आउन भन्दा पनि अन्य विकल्पमा जोड

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यलयमै आएर भन्दा पनि अन्य विकल्पमार्फत पनि काम गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले राजपत्रमा उल्लेख भएअनुसार अत्यावश्यक सेवा भएकाले बैंकहरुले सेवा प्रवाह गर्दा न्यून कर्मचारीमार्फत दिनु पर्नेछ । कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यापार निरन्तरतालाई मध्यनजर गर्दै सकेसम्म कम कर्मचारी राखी सेवा दिन भनेको हो । यसका लागि रिमोट एक्सेस, घरबाटै काम तथा सिफ्टमा सञ्चालनको व्यवस्था गर्न कन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाई सुझाएको हो ।
बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपायहरु अपनाउन तथा विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गर्न सुझाएको छ ।