कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
728

बैंक अफ काठमान्डुले आफ्नो २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत काठमान्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आईसीयु कक्ष निर्माण गर्न १ करोड सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गभर्नर नेपालले १ करोडको चेक संस्थाका संस्थापक एवं अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका थिए । साथै बैंकले सोसाइटी अफ इकोनोमिक जर्नालिस्ट नेपाल (सेजोन) लाई आर्थिक पत्रकारिताको क्षेत्रमा महिला पत्रकारहरूको समावेशिता बढाउन र उनीहरूको क्षमता अभिवृद्घि गर्न चाहिने तालिम प्रदान गर्न ५ लाख रुपैयाँ सहयोग पनि गरेको छ ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैकको २५ औं वार्षिकोत्सवको लोगो पनि सार्वजनिक गरे । वार्षिकोत्सवको अवशरमा बैंकका सबै प्रादेशिक कार्यालयहरूमा प्रभातफेरी तथा विभिन्न संघ–संस्थाहरूलाई सहयोग, नेपाल रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम, बैंकको आन्तरिक फुट्स्ल  प्रतियोगिता तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा बृहत् ग्राहक सप्ताह कार्यक्रमको आयोजना गर्ने भन्दै बेकले बुधबार पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सव कार्यक्रमका बारेमा जानकारी दिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न ‘बीओके कृषि कर्जा’सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको बताए । विभिन्न सुविधासहित २५ रुपैयाँको न्यूनतम मौज्दातमै ‘सहज बचत खाता’ खोल्न सकिने जानकारी बैंकले गराएको छ । साथै, बैंकले मोबाइल बैंकिङ ‘बिओके स्मार्ट’ मार्फत गरिने पहिलो कारोबारअन्र्तगत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइल टपअफ गर्दा २५ प्रतिशत नगद फिर्ता हुने योजनासमेत सार्वजनीक गरेको छ ।