कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
510

सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र ‘१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६’ चाँडै बजारमा निष्कासन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र १० वर्षको अवधिका लागि निष्कासन गर्न लागिएको हो ।
२ अर्ब ५० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब रुपैयाँ ऋणपुँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपुँजी रकम विभिन्न व्यक्तिवा संघ–संस्थाहरूलाई व्यक्तिगततर्फबाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रवन्धमा यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको ‘१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६’ ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले एलबीबीबी प्लस रेटिङ प्रदान गरेको जनाएको छ ।
उक्त क्रेडिट रेटिङ प्राप्त गर्ने उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित मानिने पनि बैंकले जनायो ।