कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
575

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै चालू आर्थिक वर्षको ६ महिनामै ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७६-०७७ को अर्धवार्षिक समयमा मात्र उक्त रकम नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको ६ महिनामा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४-०७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको थियो ।

यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो ।
यसैबीच अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६ महिनामा १७.७ प्रतिशतले बढेको । अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधिमा ०.५ प्रतिशतले बढेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.५ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा खुद ट्रान्सफर आय ०.१ प्रतिशतले वृद्धि भई ५०६ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८.७ प्रतिशतले बढेको थियो ।

महंगी पनि बढ्दै
पछिल्लो समय उपभोक्ता मूल्य सूचकांकमा आधारित र औसत मुद्रास्फीति बढ्दै गएको देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थाको मध्यावधि समीक्षामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ६.८२ प्रतिशत छ । ६ महिनाको औसत मुद्रास्फीति ६.४१ प्रतिशत छ ।
चालू आर्थिक वर्षको ५ महिनासम्ममा भने मुद्रास्फीति केही कम थियो । सो अवधिसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.५५ प्रतिशत थियो । पाँच महिनाको औसत मुद्रास्फीति ६.३३ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ पुसमा यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।