कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
528

मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नम्बर २ र ३ का सहायक स्तरका कर्मचारीहरूको सहभागितामा ‘कर्मचारी पुनर्ताजगी तालिम’ हेटौंडामा सम्पन्न गरेको छ ।
यस संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियोमार्फत सहभागि कर्मचारीहरूलाई संस्थाको उद्देश्यबमोजिम कार्य गर्न तथा सदस्यहरूको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशीलता तालिममार्फत आयस्रोत वृद्धिका लागि कर्मचारीहरू लागि पर्न सल्लाह सुझाव दिनका थिए ।

तालिममा शाखा व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, कर्मचारी व्यवहार, कर्जा व्यवस्थापन तथा असुली, लेखा व्यवस्थापन, उद्यमशील विकास र ट्याबलेट बैंकिङसम्बन्धी तालिम दिइएको जनाएको छ । यस तालिममा केन्द्रीय कार्यालयका वित्त विभाग प्रमुख सरीता श्रेष्ठ, जनशक्ति विभाग प्रमुख कमलकुमार काफ्ले, कर्जा विभाग प्रमुख निराजन श्रेष्ठ, अनुगमन विभाग प्रमुख सुजीत खतिवडा, जोखिम व्यवस्थापन तथा असुली विभागका शंकर थापा, आइटी विभागका सञ्जीव मानन्धरले सिकाएका थिए ।
यस क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको बिभिन्न चुनौती तथा समस्याहरूलाई चिर्दै फिल्डको व्यवस्थापन गर्न र फिल्ड कर्मचारीहरूलाई सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।