कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
835

सहकारीलाई विषय अनुसारकै काममा केन्द्रीत गराउन ऐनमार्फत ल्याइएको ‘मुख्य कारोबार’ को व्यवस्था कार्यान्वयनका विषयमा सहकारी संघहरु नै विभाजित भएका छन् । राष्ट्रिय सहकारी महासंघका साथै विषयगत केन्द्रीय संघहरुले मुख्य कारोबारको व्यवस्था हटाउन लविङ गरिरहेका बेला बचत तथा ऋण सहकारीको केन्द्रीय संघले भने कार्यान्वयन गर्न दवाव दिएको छ ।
सहकारी ऐन—२०७४ को दफा ५० मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्थाबाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न नपाउने व्यवस्था छ । ऐनमा संस्थाहरूले आफ्नो विनियममा उल्लेख भएको मुख्य उद्देश्यमा ७० प्रतिशत काम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको हो ।

यसैगरी ऐन प्रारम्भ हुनुअघि बहुउद्देश्यीय वा विषयगत संघको रूपमा दर्ता भइ मुख्य कारोबारको रूपमा बचत तथा ऋणको कारोबार गर्दै आएका संस्थाले तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदा उल्लेख गरिएको मुख्य कारोबार गर्नुपर्छ । विनियममा उल्लेख भए अनुसार कारोबार गर्न नसक्ने संस्थाहरुले कारोबार गरिरहेको विषय अनुसार उद्देश्य र नाम परिवर्तन गर्नुपर्ने व्यवस्था छ ।

ऐनकै व्यवस्था अनुसार सहकारी विभागले सूचना जारी गरी कारोबार मिलाउनका लागि सहकारी संस्थाहरूलाई निर्देशन दिएको थियो । जनअनुसार बहुउद्देश्यीय र विषयगत सहकारीहरूले २०७६ असोजसम्ममा सदस्यहरूसँग गरेको खरिद बिक्री सेवाको ३० प्रतिशत मात्र बचत संकलन गर्न पाउने सूचनामा उल्लेख छ । ऐनको व्यवस्थाअनुसार संस्थाको कारोबारको अनुपात मिलाउने योजना नियामक निकायमा पेश गर्न समेत विभागले सूचनामार्फत निर्देशन जारी गरेको थियो ।
ऐनले दिएको समयसिमा समाप्त भइसक्दा पनि सहकारीमा मुख्य कारोबारको विषय कार्यान्वयन हुन सकेको छैन । उल्टै यसलाई कार्यान्वयनको विषयमा सहकारी संघहरुबीच नै विवाद बढ्न थालेको छ । मुख्य कारोबारको विषय सुधार गर्न राष्ट्रिय सहकारी महासंघले मन्त्रालयमा लविङ गरिरहँदा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कूनले भने आपत्ति जनाएको छ ।
महासंघले सहकारी ऐन २०७४ संशोधन गरेर मुख्य कारोबारको सीमा ३० प्रतिशत बनाउन माग गरेको छ । “सबै विषयगत सहकारीहरुले मुख्य कारोबारको विषयमा कम्तीमा ३० प्रतिशत काम गर्नुपर्छ” महासंघका अध्यक्ष मिनराज कँडेलले भने, “हाल भएको ७० प्रतिशतको व्यवस्था कार्यान्वयन गर्न सकिँदैन ।”
यता नेफ्स्कूनले भने बचत तथा ऋण बाहेक अन्य सहकारीहरुलाई वित्तीय कारोबार गर्न दिन नहुने बताएको छ । “विषयगत सहकारीहरुले वित्तीय कारोबार गर्नु हुदैन” नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले भने, “सबैले वित्तीय कारोबार गर्दा सहकारीका जोखिम बढेको छ ।”
विभागको तथ्यांक हेर्दा सेवा र उत्पादनका एक दर्जन भन्दा बढी क्षेत्रमा सहकारी दर्ता भएका छन् । बचत तथा ऋण र बहुउद्देश्यीयका अतिरिक्त, कृषि, फलफूल तथा तरकारी, मौरीपालन, पशुपालन, उखुखेती, केराखेती, जुनार, अदुवा, चिया तथा कफीलगायतका सहकारीहरू दर्ता भएका छन् । यसैगरी सूचना तथा सञ्चार, स्वास्थ्य, उपभोक्तालगायतका सेवामूलक व्यवसायमा पनि सहकारी दर्ता भएका छन् । दर्ता गर्दा उद्देश्य र नाम विभिन्न राखेर काम गर्दा बचत तथा ऋणमा मात्र सीमित भएका छन् ।
ऐनको व्यवस्था कार्यान्वयनबारे संघहरुबीच विवाद बढीरहेका बेला केही बहुउद्देश्यीय र विषयगत सहकारीहरुले भने मुख्य काम अनुसार बचत तथा ऋण सहकारीमा विषय परिवर्तन गर्न थालेका छन् ।