कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६
459

धनगढी-कृषि विकास बैंकले सुदूरपश्चिम प्रदेशमा निर्धारण गरेको लक्ष्य भेटाउन सकेको छैन । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले मंगलबार धनगढीमा ५३ औं कार्षिकोत्सव कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकअनुसार निर्धारण लक्ष पूरा गर्न नसकेको देखिएको हो । बैंकले आर्थिक वर्ष २०७६-७७ को ६ महिनामा निक्षेप संकलन, मुनाफा आर्जन, ऋण लगानी, ब्याज असुली, भाका नाघेका कर्जा असुली, अपलेखन कर्जा असुली, मोबाइल बैंकिङ सेवा प्रदानलगायतमा निर्धारण गरेको लक्ष पूरा गर्न सकेको छैन ।
बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब ७५ करोड १० लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले पुस मसान्तसम्म ४ अर्ब ४७ करोड ४३ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गर्ने लक्ष्य लिएको थियो ।

यसगैरी, बैंकले पुस मसान्तसम्म १५ करोड ११ लाख १६ हजार रुपैया“ मुनाफा आर्जन गरेको छ । बैंकले ३३ करोड ३६ लाख ४७ हजार रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य राखेको थियो । बैंकले लक्षअनुसार निक्षेप संकलन र मुनाफा आर्जन गर्न नसकेको हो ।
यद्यपि बैंकले सुदूरपश्चिममा ऋण लगानी भने लक्ष नजिक पुगेको छ । पुस मसान्तसम्म ६ अर्ब ६० करोड ७१ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी लक्ष लिएको बैंकले ६ अर्ब ४१ करोड ४७ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले सो अवधि लिनुपर्ने ब्याज २ करोड ८८ लाख २९ हजार रुपैयाँ राख्ने लक्ष राखेको ९ करोड २४ लाख ८९ हजार रुपैयाँ ब्याज असुल गर्न सकेन । सो अवधिमा भाका नाघेको कर्जा ९ करोड १६ लाख २९ हजार रुपैयाँमा झार्ने लक्ष लिएको बैंकको ३८ करोड ६२ लाख ३४ हजार रुपैयाँ भाका नाघेको कर्जा छ । सोही अवधिमा अपलेखन कर्जा २ करोड ३७ लाख नौ हजार रुपैयाँमा झार्ने लक्ष लिएको बैंकको पाँच करोड ७१ लाख ४७ हजार रुपैयाँ अपलेखन कर्जा रकम छ ।
मोबाइल बैंकिङ सेवा लिने ग्राहक संख्या ३३ हजार ३८३ पु-याउने लक्ष लिएको बैंकको सेवा सेवा लिने ग्राहक पुस मसान्तसम्म २४ हजार ८ सय २९ मात्रै पुगेको छ ।
बैंकले पुस मसान्तसम्म सुदूरपश्चिममा थोक तथा खुद्रा व्यवसायका लागि २ अर्ब २३ करोड ४२ लाख २९ हजार रुपैयाँ, कृषि व्यवासायका लागि एक अर्ब ५८ करोड ६४ लाख ७० हजार र घरायसी उपभोगका लागि एक अर्ब २८ करोड ८२ लाख ६७ हजार रुपैयाँ ऋण प्रबाह गरेको छ । त्यसैगरी, उद्योग सञ्चालनमा २२ करोड १६ लाख ४६ हजार, होटेल तथा पर्यटनमा १६ करोड ९५ लाख ३० हजार, निर्माण, यातायात तथा सञ्चारमा १७ करोड ७८ हजार, वित्त, बिमा तथा सहकारीमा ८९ लाख ३२ हजार र सेवा व्यवसायमा १८ करोड ४८ लाख ५८ हजार रुपैयाँ लगानी गरेको छ । बैंकले सोही अवधिमा १९५ जनालाई व्यवसायिक कृषि तथा विना धितो कर्जा ३१ करोड ३३ लाख ८७ हजार रपैयाँ दिएको जनाएको छ ।