कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६
545

सर्लाहीका बुद्धिजिवी तथा ऋणीहरुले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुले घरायसी लेनदेनको लागि ब्याजमा ऋणको कारोबार गर्नुलाई अपराधको रुपमा नबुझ्न आग्रह गरेका हुन् ।
कानून व्यवसायी राजीव सिन्हाले नेपालको प्रचलित कानूनले तोकेको दर रेटमा गरिने आर्थिक लेनदेनको कारोबारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । उनले भने, “कसैको घरमा छोरीको विवाह गर्नुपर्ने हुन्छ, कसैको उपचारको लागि पैसा चाहिन्छ, कसैलाई वैदेशिक रोजगारमा जानको लागि तत्काल पैसा चाहिएको हुन्छ, हाम्रो समाजमा यस्ताखाले अन्य सामाजिक गर्जो टार्नुपर्ने समस्याहरु आईरहन्छन्, यी समस्याको समाधान गर्नको लागि पनि यस्तोखाले कारोबार विगत लामो समयदेखि (परम्परा) को रुपमा चलिआएको छ, यस्तो कारोबारलाई कानूनले पनि मान्यता तथा संरक्षण गरेको छ ।”

उनले राज्यले सानातिना गर्जो टार्ने वित्तीय संस्थाहरु गाउँघरमा पु-याउने आफ्नो जिम्मेवारी पूरा नगरेसम्म सामाजिक परम्परालाई निरन्तरता दिनुपर्ने बताए ।
उनले सर्लाहीका सञ्जय रौनियारको विरोधमा फौजदारी अभियोग दर्ता हुने अवस्था सिर्जना गरिएकोमा पनि गम्भिर असन्तुष्टि व्यक्त गरे । अधिवक्ता जगदेव चौधरीले नेपालको संविधान र मूलुकी देवानी संहिता–२०७४ मा लेनदेन गर्नेबारे कानूनी व्यवस्था गरेको दावी गर्दै सो व्यवस्थामाथि सर्लाहीको साहुहरुमाथि लेनदेन गरेको आधारमा फौजदारी मुद्दा लगाई धरपकड गर्ने कार्य निन्दनीय भएको टिप्पणी गरे । उनले भने, “साहूहरुमाथि भएको ज्यादती, धरपकडप्रति हाम्रो गम्भिर आपत्ति छ । सरकारको तर्फबाट यो काम तुरुन्त बन्द गर्नुपर्छ ।”
उनले साहूहरुमाथि भएको ज्यादती नरोकिएमा घरायसी लेनदेनको कारोबार बन्द हुने अवस्थासमेत सिर्जना हुन लागेकोबारे सचेत गराए । उनले सर्लाहीका साहु सञ्जय रौनियारले ‘मिटर ब्याज’ को कारोबार नगरेको दाबी गरे ।
राजपा नेपालका केन्द्रीय सदस्य लालबिहारी यादवले सामाजिक लेनदेनको कारोबार आवश्यक रहेको औंल्याए । उनले भने, “यदि यो कारोबारलाई बन्द गर्ने हो भने हजारौं गरिब, किसान समूदायका मान्छेहरुलाई आफ्नो सामाजिक काम (गर्जौ ) टार्नपनि ठूलो समस्या हुन्छ । यसले सामाजिक संरचना बिगार्छ ।”