लक्ष्मण ढुंगाना
आइतवार, पुष ६, २०७६
800

नेपालगञ्ज-बाँकेको कोहलपुर–१३ खर्गवारका कृषक दलबहादुर ओली मंसिर २४ गते धान बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जमा आए । तर, उनले अझै धान बेच्न पालो पाएका छैनन । मंसिर अन्तिम साता आएको वर्षाले उनको धान भिजेर निकै क्षति व्यर्होनु परेको छ । “पानीले भिजेर धान उम्रिन थालेको छ” उनले भने, “खाद्यमा धान राख्ने प्रवन्ध नहुँदा खुला आकासमुनी राख्नु परेको हो ।”
उनी जस्तै नेपालगञ्ज–१५ पिप्रहवाका कृषक रमेशकुमार बर्माले १२ दिनसम्म धान बिक्री गर्न सकेका छैनन् । सुरक्षित तरिकाले धान राख्ने व्यवस्था नहुँदा वर्षाका कारण भिजेर नोक्सानी भएको छ । अर्काको ट्रयाक्टर भाडामा लिएर आएका उनले १२ दिनसम्म पालो नपाउँदा थप व्ययभार तिर्नुपरेको बताए । “एकातिर धान भिजेर नोक्सान भयो” उनले भने, “अर्कोतर्फ पालो नपाउँदा दैनिक रुपमा ट्रयाक्टर भाडा बढ्दै गएको छ ।” बजार भन्दा २-३ सय रुपैयाँ बढी मूल्य छ भनेर यता आएपनि अहिले झन घाटा लागिरहेको उनको भनाई छ ।

खाद्यमा आएका अधिकांश कृषकको आम्दानीको स्रोत त्यही धान बिक्री हो । वर्ष दिनसम्मको सम्पूर्ण खर्च धान्दै आएपनि धान बेच्न सास्तीका साथै नोक्सानी व्यर्होनुपरेपछि कृषक चिन्तित छन् । नेपालगञ्ज १५ का सिराज अहमद हलवाइले सरकारले क्षतिपूर्ति दिनुपर्ने बताए । “धान बेच्नका लागि १५ दिन पालो कुर्नुपर्ने, त्यसमाथी पानीले भिजेर किसानकै क्षति” उनले भने “त्यसको क्षतिपूर्ति कसले दिने ?”
नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कारकाँदोस्थित अञ्चल कार्यालयमा गोदाम अभावका कारण हरेक वर्ष खुला आकासमुनि जोखिमपूर्ण अवस्थामा धान राख्ने गरिएको छ । जस्का कारण खाद्यले खरिद गरेको धान सुरक्षामा चुनौती थपिएको छ भने लामो समयसम्म पालो कुर्नुपर्ने भएपछि धान बेच्न आएका कृषकले समेत सास्तीका साथै नोक्सानी व्यर्होनु परेको छ ।
हरेक वर्ष धान खरिद गर्ने बेलामा पानी पर्ने गरेको छ । बाहिर चौरमा राखिएको धान भिजेर क्षति हुन थालेपछि अस्थायी रुपमा त्रिपाल ओढाएर राख्नेबाहेक अन्य विकल्प खाद्यसँग छैन । तर किसानको धान भने जोगाउन गाह्रो छ ।
पटक–पटक यस्तै समस्या आउन थालेपछि कम्पनीले दिर्घकालीन रुपमा समस्या समाधानका लागि गोदाम अथवा टहरा निर्माण गर्नुपर्ने भन्दै विभागमा माग गरिएको जनाएको छ । कम्पनीका अञ्चल प्रमुख भरतराज खनियाँले विभागबाट सचिव, महाप्रवन्धकलगायतको टोली अनुगमनमा आएको बेला गोदाम तथा टहरा निर्माणको लागि माग गरेको बताए । “उहाँहरु सकारात्मक हुनुहुन्छ” उनले भने, “हामी यस्को स्टिमेट बनाएर तुरुन्तै पठाउने तयारीमा छौं ।” कम्पनीले यसवर्ष ३५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । हालसम्म करिव २९ हजार क्वीन्टल धान खरिद गरिसकेको जनाएको छ ।

कृषकहरुको चाप अझै बढी रहेकोले कोटा बढाउने तयारी थालिएको बताइएको छ । मूल्य राम्रो भएपछि लक्ष्यअनुसार धान खरिद भएपनि धान बिक्री गर्ने समयमा प्रत्यक वर्ष कृषक र संस्थान दुवैले धान सुरक्षाको जोखिम व्यहोर्दै आएका छन् । समस्या परेको बेला सधै नै दिर्घकालीन उपाय अपनाउन माग गरेपनि त्यसपछि भने स्थायीरुपमा समस्या समाधान गर्नेतर्फ ध्यान दिने गरिएको छैन ।