कारोबार संवाददाता
बिहिवार, पुष ३, २०७६
656

राष्ट्रियसभामा रिक्त हुन लागेका केही सदस्यका लागि यही पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरूको मतभार भने फरकफरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ हुन्छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।

२० गते उम्मेदवारी दर्ता गरेपछि दाबी विरोधलगायत प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ । मतदान भने माघ ९ गते हुनेछ ।
राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।
राष्ट्रिय सभा सदस्यहरू सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ। यसैगरी हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि सकिँदैछ ।
कार्यकाल सकिने अन्य सदस्यहरूमा वृशेषचन्द्र लाल, रमेशप्रसाद यादव, रामप्रित पासवान, डा. युवराज खतिवडा छन् ।