अमरराज आचार्य
सोमवार, मंसिर ३०, २०७६
588

दाङ-जिल्लामा सहकारी संस्थाहरु मर्जको अभियान सुरु भएको छ । लमही नगरपालिकामा २ सहकारी मर्ज भएर तेजश्री मातृभूमि सहकारी संस्था नामाकरण भएको छ । यसैगरी जिल्लामा अन्य सहकारी पनि मर्जको तयारीमा छन् । जिल्ला सहकारी संघले सहकारी मर्ज अभियानलाई प्राथमिकता दिने जनाएको छ ।
जिल्ला सहकारी संघको २७ औं साधारणसभामा संघका जिल्ला अध्यक्ष गोविन्द्रप्रसाद शर्माले जिल्लामा सहकारी मर्जको प्रस्ताव नै गरेका छन् । संघले आर्थिक वर्ष २०७६-०७७ मा सहकारी एकीकरणको अभियानलाई जोड दिँदै व्यापक बनाउने प्रस्ताव गरेको हो । एकीकरण हुने सहकारी संस्थालाई सम्मानसमेत गरिने भएको जिल्ला सहकारी संघले जनाएको छ ।

सहकारी संस्थाहरुको स्थापना संख्यात्मक रुपमा उल्लेख्नीय वृद्धि भएको र सहकारी संस्थाहरुको सेवालाई गुणस्तरीय, प्रतिस्पर्धात्मक, व्यावसायिक, दिगो एवं सुदृढ बनाउन आवश्यक भएको भन्दै यो प्रस्ताव ल्याएको अध्यक्ष शर्माले बताए । त्यसैले समान प्रकृति र भूगोलका आधारमा एकीकरण एक महत्वपूर्ण विकल्प रहेको समेत उनले बताए । त्यसैगरी संघले समान किसिमका एक भन्दा बढी सहकारीमा सदस्य नहुने व्यवस्थालाई कार्यान्वयमा समेत पहल गर्ने जनाएको छ । जिल्लामा हाल संघमा ४ सय १८ वटा सहकारी संस्थाहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रदेश नं ५ का सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदीले सहकारी संस्थाहरु दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्न आवश्यक भएको बताए । उनले दीर्घकालीन योजना नहुँदा सहकारीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा समस्या हुने गरेको बताए । ‘आफनो क्षेत्रको सम्भावना हेरेर ठूला योजना निर्माण गर्न आवश्यक छ’, सुवेदीले भने, ‘सहकारीले देखिने गरेर ठूला योजनामा लगानी गरिनु पर्छ ।’
सहकारी संस्थाहरुले आफूले गरेका कामसमेत देखाउन नसकेको उनको भनाइ थियो । सानो लगानीबाट राम्रा काम गरे पनि देखाउन नसकेको सुवेदीले बताए । राजयले सहकारी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न नसकेकोसमेत उनको भनाइ रहेको छ । सहकारीहरु राज्यसँग समन्वय गरेर अगाडी बढ्न तयार रहेको उनले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीलाई उत्पादनसँग जोडेर अगाडी बढ्नु पर्ने बताएका थिए । सहकार्य गरेर अगाडि बढेमा उत्पादन, बजारीकरणमा समेत सहजता हुने वक्ताहरुको भनाइ थियो ।