एजेन्सी
सोमवार, मंसिर ३०, २०७६
2173

ब्रसेल्स-युरोपेली संघ (ईयू) नेताहरूबीच सन् २०५० सम्म युुरोपलाई कार्बन उत्सर्जनका हिसाबले तटस्थ बनाउने सहमति भएको युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले बताए ।
मिसेलले शुक्रबार सामाजिक सञ्जाल ट्विटर पेजमार्फत सार्वजनिक सन्देशमा भनिएको छ, “कुनै पनि मूल्यवान् कुरा सहज प्राप्त गर्न सकिँदैन । तर, हामीले यो सहमति गरेका छौँ । ईयूलाई सन् २०५० सम्ममा जलवायु परिवर्तनमा प्रमुख भूमिका खेल्ने कार्बन उत्सर्जनमा तटस्थ बनाउनेछौँ ।”

“ईयू नेताहरूले सम्मेलनमा यो महत्वपूर्ण उद्देश्यका लागि सहमति गरेका छौँ ।”
यद्यपि यो लक्ष्यमा पोल्यान्डले प्रतिबद्धता नजनाएको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ईयूको एउटा सदस्य राष्ट्रले अहिलेको अवस्थामा यो लक्ष्यमा प्रतिबद्धता जनाउन सकेको छैन । यस प्रसङ्गमा छलफलका लागि हामी पुनः सन् २०२० को जुनमा भेला हुने बताइएको छ ।
सम्मेलनको निष्कर्षमा भनिएको छ कि इन्धन सुरक्षालाई प्रत्याभूत गर्न केही सदस्य राष्ट्रले आणविक इन्धनलाई आफ्नो राष्ट्रिय इन्धनको विकल्पमा उभ्याउने संकेत (अठोट) गरिसकेका छन् ।
ईयूको प्रतिस्पर्धालाई सुरक्षित गर्न नेताहरूले युरोपेली परिषद्द्वारा कार्बन सीमा अनुकूलन संयन्त्रका लागि प्रस्ताव गर्न लागेको विषयलाई समर्थन गरेका छन्, सम्मेलनको निष्कर्षमा भनिएको छ ।
युरोपेली आयोगले बुधबार ‘युरोपियन ग्रिन डिल’ नाम दिइएको जलवायु परिवर्तन समस्यासँग जुध्ने ईयूको मार्गचित्र सार्वजनिक गरेको थियो भने यसलाई बिहीबार सुरु भएको ईयू नेताहरू सम्मिलित भेलामा सहमतिका लागि पेस गरिएको थियो ।
सम्झौतामा सन् २०५० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई रोक्ने लक्ष्य राखेको छ ।


सातामा धेरै पढिएको