कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
294

चालु आर्थिक वर्षको तेस्रो महिनामा रेमिट्यान्य आप्रवाह ५ प्रतिशले घटेको छ । असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आएर २३० अर्ब २४ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेर २४२ अर्ब १७ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको दोस्रो महिनामा १५३ अर्ब विप्रेषण आएको थियो । दोस्रो महिनाको तुलनामा भने करिब ७६ अर्बले धेरै हो । चालु आर्थिक वर्षको असोजसम्मा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई २६० अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या असोजसम्ममा ३.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो महिनामा ६.१२ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेकोमा २०७६ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको असोजसम्ममा मुद्रास्फीति ४.६८ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड रुपैयाँले घाटामा थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकी डलरमा शोधनान्तर स्थिति १२ करोड ७८ लाखले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३१ करोड ६२ लाखले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता घाटा २७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८१ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको तीन महिनासम्ममा ७१ करोड ५० लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा २३ करोड ९९ लाख रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पूँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ३ अर्ब ५५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।