कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
360

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील वचत तथा ऋण सहकारी संस्थाले आर्थिक् वर्ष २०७५-०७६ मा ३० करोडको वित्तीय कारोवार गरेको छ । सहकारीले सोही अवधिमा चार करोड ३१ लाख ८१ हजार ८८१ रुपैयाँ आम्दानी गरेको छ । जुन आर्थिक वर्ष २०७४-०७५ तुलनामा ३५ दशमलव ५६ प्रतिशतले बढी रहेको छ ।
सहकारीको १२औँ साधारणसभामा आयव्ययको प्रतिवेदन पेश गर्दै सहकारीका कोषाध्यक्ष प्रकाश खड्काले चालू आवमा ४२ लाख ५३ हजार ४०२ रकम खुद नाफा आर्जन गरिएको बताए । सहकारीमा बचतकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै बचत रकम १६ करोड २० लाख ३२ हजार ४४९ रुपैयाँ पुगेको छ ।

आव २०७४-०७५ तलुनामा बचत रकम चालू आवमा ४४ दशमलव ३६ प्रतिशतले वृद्धि भएको उनले बताए । उनका अनुसार सहकारीमा बाह्य ऋण आठ करोड सात लाख २१ हजार ९८३ रुपैयाँ रहेको छ । लगानीमा रहेको ऋण २५ करोड ८७ लाख ७९ हजार ८९२ र असुली दर ९९ दशमलव ८६ प्रतिशत रहेको छ ।
सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्नेहरुको संख्या आव २०७४-७५ तीन हजार ८४९ रहेकामा आव २०७५-०७६ मा बढेर चार हजार ५२१ पुगेको छ । सहकारीको शेयर पूँजी एक करोड ८८ लाख ५४ हजार १०० रहेको छ । आव २०७४-७५ को तुलनामा १० दशमलव दुई प्रतिशतले बढेको छ । सहकारीमा शेयर सदस्य सङ्ख्या नौ हजार ६६९ रहेका छन् ।
सहकारीले न्यून आय भएका बासिन्दाको आयस्तरमा वृद्धि गर्नका लागि २३८ वटा केन्द्रसमेत सञ्चालन गरेको छ । सहकारीले जनजाति आदिवासी वर्गका उद्यमशील महिला तथा पुरुषहरुको वित्तीय सेवाको माध्यमबाट आर्थिक विकासका लागि सहज रुपमा ऋण परिचालन गर्नका लागि जिल्लाका सात स्थानबाट सेवा प्रवाह गर्दै आएको छ ।