सागर परियार
मंगलबार, कार्तिक २६, २०७६
474

जुम्लाका नुर्व तामाङ एक होटल व्यवसायी हुन् । अहिले जुम्लामा करोडौको होटल सञ्चालन गरेका छन् । २-३ वर्ष पहिले कान्जिरोवा होटल सञ्चालनका लागि ऋण माग्दा उनलाई कुनै बैंकले पत्याएनन् । अन्तिम विकल्पमा रुपमा चन्दननाथ सहकारीमा जाँदा एकै पटक लाखौं ऋण पाए ।
तातोपानी गाउँपालिका २ की तारा दमाइले सहकारीबाट ऋण लिएर खुद्रा व्यापार गरिरहेकी छिन् । चन्दननाथ सहकारीमा मासिक बचत गर्ने उनले सहकारीबाट लिएको ऋणबाट गाउँमै खुद्रा पसल सञ्चालन गरेकी हुन् । पसल सञ्चालन गरेको अहिले २ वर्ष बित्यो । ऋण चुक्ता गरेर नियमित बचत गर्दै, पसल सञ्चालनमा व्यस्त छिन् ।
त्यस्तै जर्मी गाउँकी हिमा दमाइ पनि सहकारीबाट ऋण लिएर खुद्रा पसल र टेर्लस सञ्चालन गरेकी छिन् । खुद्रा पसल सिलाइ कटाई व्यवसायसँग सञ्चान गरिरहेको छिन् । छोराछोरीको पढाई, घर खर्च सबै त्यही व्यवसायबाट चलेको छ । उनले भनिन, ‘श्रीमान श्रीमती दुवैजना दैनिक पसल र सिलाइ कटाइमा व्यस्त हुन्छौं ।’ सहकारीले सस्तो ब्याजमा दिएको ऋणले विपन्न महिलाको जीवनस्तर सुधारमा टेवा पुगेको उनले बताइन् ।
तारा र हिमा जस्तै जुम्लाका हजारौ महिलाले सहकारीबाट ऋण लिएर, कुखुरा पालन, बाख्रा पालन, तरकारी खेती, सिलाइकटाइ लगायत व्यवसाय गरिहेका छन् । सहकारीका माध्यमबाट कर्णालीका सयौ महिला उद्यमशील बनेका छन् । वित्तिय पहुँचमा वृद्धि, व्यवसायमा अग्रसर, चेतना वृद्धि भएसँगै बचत गर्ने बानीको विकास भएको सहकारी सञ्चालकहरुको दाबी छ । जुम्लामा महिलालाई लक्षित गरी करिब तीन दर्जन भन्दा सहकारी सञ्चालनमा छन् ।
उक्त सहकारीले हजारौं महिलालाई उद्यमशील बनाउउनका साथै सयौंलाई रोजगारी पनि दिएको छ । तर जुम्लाकै सबैभन्दा पुरानो तथा बढी सदस्य रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीले जुम्लामा महिला उद्यम शिलतालाई प्रथामिकता दिँदै करोडौं रुपैयाँ व्यावसायिक ऋण लगानी गरेको छ ।

साढे ६६ करोड ऋण लगानी
जुम्लामा तीन दर्जन भन्दा बढी सहकारी छन् । तर महिला उद्यमशीलताका लागि विश्वास गर्दै ठूलो मात्रामा लगानी गर्ने पहिलो सहकारी चन्दननाथ बहुउद्देश्यीय सहकारी देखिएको छ । सहकारीमा आबद्ध महिलालाई आत्मनिर्भर तथा आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ चन्दननाथ बहुउद्देश्यीय सहकारीले हालसम्म ६६ करोड ७६ लाख ७८ हजार ६ सय ३२ रुपैयाँ व्यावसायिक ऋण लगानी गरेको अध्यक्ष दुर्गादेवी न्यौपानले बताइन् । सहकारीको नवौ साधारण सभाको अवसरमा सरोकारवालाई महिला उद्यमशीलताका लागि बिना धितो ३ हजार ८ सय २६ जना सदस्यहरुलाई ६६ करोड ७६ लाख रुपैयाँ भन्दा बढी रकम व्यवसायिक ऋण उपलब्ध गराइएको छ ।
सहकारीले हालसम्म लगानी गरेको मध्ये ५२ करोड ६२ लाख २१ हजार रुपैयाँ ऋण असुली गरिसकेको जनाएको छ । अन्य ऋण असुली प्रक्रियामा रहेको सहकारीले जनाएको छ ।

कर्णाली समृद्धीको आधार सहकारी
पूर्व राज्य मन्त्री गोमा कुँवरले कर्णाली प्रदेशको समृद्धिको आधार सहकारी भएको बताइन् । उनले सरकारसँग समन्वय गर्दै गाउँ गाउँमा सहकारी उद्यममशीलताका कामहरु गर्नुपर्नेमा जोड दिइन् । उनले महिला शसक्तिकरणमा सहकारीको प्रथामिकताले आर्थिक पहुँचमा महिला पुगेको उल्लेख गरिन् । जल, जमिन, जडिबुटी, जंगल स्याउ, सिमी, आलु फापर, मार्सीधानको उत्पादन वृद्धि तथा लगानीमा पनि सहकारीको लगानी आवश्यक रहेको पूर्व सांसद ललितजंग शाहीको भनाइ छ ।