कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
401

सनराइज बैंकको १ हजार रुपैयाँ अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०।२५प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्ने गरी ३ अर्ब रुपैयाँ रकम बराबरको ऋणपत्र मिति आज (बुधबार)देखि निष्कासन गरिँदै छ । निष्कासन चाँडोमा यही आइतबार र ढिलोमा मंसिर १९ गतेसम्म खुला रहनेछ ।
३ अर्ब रुपैयाँमध्ये १२ लाख कित्ता बराबरको १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणहरूमा सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गर्नका लागि तथा १८ लाख कित्ता बराबरको १ अर्ब ८० करोड रुपैयाँ मात्र ऋणपत्र परिपत्र विधिबाट संस्थागत-व्यक्तिहरूलाई बिक्री खुला गरिएको छ ।

सिद्घार्थ क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट धितो राखी कर्जासमेत लिन सकिनेछ । केयर रेटिङ नेपालले न्यून कर्जा जोखिम केयर एनपीए माइनस रेटिङ प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताका लागि आवेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ ।
प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल व्यवस्थापक रहेको बैंक २०६४ साल असोज २५ मा स्थापना भई ८ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी रहेकोमा बैंकको १२ औं साधारणसभाबाट १० प्रतिशत बोनस सेयर पारित भइसकेकाले हाल चुक्तापुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३८ रुपैयाँ कायम भएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यसहित यस बैंकले १ सय २२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४२ वटा एटीएममार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।