कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६
445

अर्थमन्त्री डा. युवराज खतिवडाले सायहता रकम बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा सहभागि भएका अर्थमन्त्री डा. खतिवडाले सरकारको लक्ष्य अनुसार गुणस्तरीय जीवन यापन गर्न सक्ने बनाउनु चुनौतीपूर्ण रहेको भन्दै यसका लागि विश्व बैंकको साहयता राशीमा उल्लेख्य वृद्धि गर्नु जरुरी रहेको बताएका थिए ।
बैठकमा खतिवडाले नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्षेत्रको औसत आयु बराबर पु-याउने लक्ष्य रहेको जानकारी गराएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका रणानीति प्राथमिकताहरुको विषयमा चर्चा गर्दै बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति सरकारको रहेको बताएका थिए । सो अवसरमा खतिवडाले बैंकबाट प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाएका थिए ।

कार्यक्रममा बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगति गरेको भन्दै प्रशंसा गरेका थिए । गत वर्ष नेपाल दक्षिण एशियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रशंशा अझै धेरै साझेदारी गर्न बाँकी रहेको उनीहरुको भनाई थियो ।
नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँड लगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मन्त्री खतिवडा यतिबेला अमेरिकाको वासिङ्टन डिसीमा छन् । सो अवसरमा मन्त्री खतिवडाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै खतिवडाले यस क्षेत्रको आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताए ।
यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु नै व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशिय सडक सञ्चालनका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने धारणा राखेका थिए ।
दक्षिण एशिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने साथै यसबाट आर्थिक वृद्धिमा परिपुरक भूमिका रहने बताए । यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको उनको भनाई थियो ।