कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६
429

ललितपुर- राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थामार्फत देशभरका सहकारीका सदस्यहरूले उपभोग गर्न पाउने गरी एटीएम सेवा उपलब्ध गराउने भएको छ । ललितपुर- राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थामार्फत देशभरका सहकारीका सदस्यहरूले उपभोग गर्न पाउने गरी एटीएम सेवा उपलब्ध गराउने भएको छ । कृषि विकास बैंकसँगको सहकार्यमा सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थाका सदस्यहरूलाई एटीएम सेवा उपलब्ध गराउन लागेको हो ।
सहकारी बैंक र कृषि विकास बैंकबीच एटीएम सञ्चालनसम्बन्धी सम्झौतामा मंगलबार सम्झौता भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले एटीएम सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । सहकारी बैंकमार्फत देशभरका सहकारीका सदस्यहरूले सुलभ रूपमा सुरक्षित कार्ड प्रयोग गर्न सक्ने तथा बैंकले सहकारी संस्थाहरूमा प्रविधिको प्रयोग गरी सहकारीका सदस्यहरूलाई समेत नवीनतम सुविधा उपभोगको अबसर प्रदान गर्ने लक्ष्यसहित सम्झौता भएको सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।सहकारी बैंकका सदस्य सहकारी संघ–संस्थाहरूले बैंकका शाखा कार्यालयमार्फत तोकिएको प्रक्रिया पूरा गरेर आफ्ना सदस्यहरूलाई एटीएम कार्ड प्रदान गर्न सक्नेछन् ।
युनियन पे इन्टरनेसनलको आधुनिक चिप तथा पिनसहितको सुरक्षित कार्र्ड देशभर जुनसुकै स्थानमा प्रयोग गर्न सकिने कृषि विकास बैंकले जनाएको छ । सम्झौतापश्चात् कृषि विकास बैंकमार्फत राष्ट्रिय सहकारी बैंकसँग आबद्ध सम्पूर्ण सदस्यहरूलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकाले ग्रामीण क्षेत्रका दूरदराजमा रहेका सहकारीका सदस्यहरूलाई आधुनिक बैंकिङका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्ने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए ।