कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
574

प्यूठान-नेपाल राष्ट्र बैंक प्रदेश–५, सिद्धार्थनगर कार्यालयका निर्देशक राजेन्द्र भट्टराईले उत्पादनशिल क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई निर्देशन दिएका छन् । देशको कुल ग्राहास्त उत्पादन कमजोर रहेको औल्याउँदै उनले कृषि कर्जा जस्ता उत्पादनशिल क्षेत्रमा राष्ट्र बैंकको नीति अबलम्वन गर्दै लगानी बढाउन निर्देशन दिएका हुन् ।
प्यूठान बिजुवारमा आयोजित अन्तरक्रियामा बोल्दै उनले आर्थिक विकासको दायित्व वित्तिय क्षेत्रले भुल्न नहुने बताए । ‘राष्ट्रले लिएको आर्थिक विकासको लक्ष्यलाई बित्तिय क्षेत्रले भूल्नु हुदैन’ उनले भने, ‘कृषि जस्ता उत्पादनशिल क्षेत्रको लगानीवाट देशको आर्थिक वृद्धि सम्भव छ ।’ कृषि उद्योग जस्ता क्षेत्रमा सहजरुपमा ऋण उपलव्ध गराउन उनले वित्तिय क्षेत्रलाई सुझाव दिए ।

कुल ग्राहस्त उत्पादन कमजोर हुँदा राष्ट्र बैंकलाई वैदेशिक व्यापार घाटा मूख्य चुनौती रहेको उनको भनाई थियो । उत्पादनशिल क्षेत्रको लगानीबाट वैदेसिक आयातलाई विस्थापन गर्न सक्ने आधार प्रशस्त रहेकोले त्यसतर्फ लगानी बढाउन उनले वित्तीय क्षेत्रलाई सुझाए । प्राय स्थानीय तहमा बैंकहरु स्थापना भइसकेको जानकारी गराउँदै उनले गुणस्तरीय सेवा प्रवाह राष्ट्र बैंकको प्राथमिकतामा रहेकोे बताए ।
ग्रामीण क्षेत्रसम्म वित्तीय साक्षरता बढाउन उनको आग्रह थियो । अन्य प्रदेशको तुलनामा प्रदेश–५ को कुलग्रास्थ उत्पादन दर बढी भएको औलाउँदै उनले यसमा सन्तुष्ट हुने आधार भने नरहेको स्पष्ट पारे । कृषि, पर्यटन, घरेलु उद्योग, वन पैदावार जस्ता आर्थिक विकासका क्षेत्रहरु प्रदेशमा प्रशस्त रहेकोले यसतर्फ लगानी बढाउनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा सहभागीहरुले बैंक तथा लघुवित्तहरुले लिने व्याजदरमा एकरुपता ल्याउनुपर्ने, निक्षेप र कर्जामा हुने व्याजदर कम गर्नुपर्नेमा जोड दिएका थिए । ‘निक्षेप र कर्जामा लगाइने व्याजदरको सिमा धेरै फराकिलो छ’, गैह्र सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष नेत्रमणी आचार्यले भने ‘यसमा राष्ट्र बैंकले नियमन गर्न जरुरी छ ।’ प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले अधिकाशं नेपालीहरु भारतमा जागिर गर्ने हुँदा राष्ट्र बैंकले भारु नोटको कारोवारमा गर्दै आएको रोकावटलाई खुल्ला गर्नुपर्ने सुझाव राखे ।

प्रज्वल पहाडी