रोशन थापा
बिहिवार, आश्विन ९, २०७६
599

 
सर्वसाधारणको निक्षेप सुरक्षित


नेपालको बैंकिङ प्रणाली ह्याक गरी करोडभन्दा बढी रकम लुटपाट गर्ने चिनियाँ समूहलाई पक्राउ गरेको एक महिना बित्न नपाउँदै फेरि बैंक तथा वित्तीय संस्थाहरूबाट ५ अर्ब रुपैयाँभन्दा धेरै ह्याक गरी विदेश लैजाने योजना विफल बनाउन नेपाल प्रहरी सफल भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले नेपालका बैंक तथा वित्तीय संस्थाको प्रविधि ह्याक गरी ५ अर्ब रुपैयाँभन्दा धेरै रकम विदेश लैजाने योजनामा संग्लन १२ जनालाई बुधबार सार्वजनिक पनि गरेको छ । पक्राउ परेकामध्ये ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले उनीहरूको साथबाट ४० लाख ५० हजार रुपैयाँसमेत बरामद गरेको छ । अन्यको बारेमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
यस्तै, प्रहरीले उक्त घटनामा बैंककै कर्मचारीको पनि मिलेमतो हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको पनि जनाएको छ । प्रहरीका अनुसार कृषि विकास बैंक ह्या प्रकरणका मुख्य योजनाकार अफ्रिकी मूलका ‘काले’ भनिने पिटर हुन् । उनी भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट ५ अर्ब रुपैयाँ अर्थात् ५० मिलियन अमेरिकी डलरभन्दा धेरै रकम ह्याक गरी विदेश लैजाने योजनामा रहेको प्रहरीले जनाएको छ । पिटरको योजनामा विभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरूबाट रकम ह्याक गरी विदेश लैजाने योजनामा रहेको अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।
पिटरले अवैध रुपमा बैंकको रकम झिक्ने काममा संग्लनहरूलाई मुम्बई नै बोलाएर काम सिकाएको र पैसा निकालेबापत कमिसन दिने गरी काममा लगाएको पनि महाशाखाले जनाएको छ । रकम निकालेर भारत पठाउनेहरूलाई पिटरले १५ देखि ३५ प्रतिशत कमिशन दिने गरी काममा लगाएको देखिएको छ । उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट ५ अर्ब रुपैयाँभन्दा धेरै ह्याक गर्ने योजनासहित विभिन्न एजेन्टहरूसँग मिटिङ गरेको समेत प्रहरीले जनाएको छ । यता, कृषि विकास बैंकले बैंकको विभिन्न शाखाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकेको पुष्टि गरेको छ ।
कृषि विकास बैंकका उपप्रबन्धक दीर्घ अर्यालले बैंकबाट रकम निकालिएको पुष्टि गर्दै सबै रकम शाखाको ब्याज आम्दानीबाट भएको बताए । उनले सर्वसाधारणको निक्षेप रकम भने सुरक्षित रहेको पनि जानकारी दिए ।
नेपालको बैंकिङ प्रणाली ह्याक गरी करोडभन्दा बढी रकम लुटपाट गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरेको एक महिना बित्न नपाउँदै प्रहरीले थप ह्याकरलाई प्रकाउ गर्न सफल भएको भए पनि नेपाल बिस्तारै अन्तर्राष्ट्रिय ह्याकरहरूको तारो बनेको देखिन्छ ।