दिलबहादुर केसी
बुधवार, आश्विन १, २०७६
495

दोलखाको उद्योग व्यवसाय विकास र विस्तारका लागि स्थानीय उद्यमी व्यवसायी र बैंकरहरूबीच अन्तरक्रिया भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा चरिकोटमा भएको कार्यक्रममा जिल्लाको विकासका लागि व्यवसायी र बैंकरबीच छलफल भएको हो ।
संघीयता कार्यान्वयनसँगै व्यवसाय पनि स्थानीय तहहरूमा विस्तार हुँदै गइरहेको अवस्थामा जिल्ला सदरमुकामको व्यापार व्यवसायलाई घट्न नदिन वैकल्पिक व्यवस्थाहरूका लागि छलफल भएको हो । ‘पहिले–पहिले सबै काम सदरमुकाममै हुन्थ्यो, व्यापार व्यवसाय पनि सदरमुकाम केन्द्रित थियो’ दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले भने “अहिले व्यापार व्यवसाय गाउँ–गाउँसम्म विस्तार भए तापनि सदरमुकामको पनि व्यवासय नघटाउन सबै लाग्नुपर्छ ।”

सदरमुकामको पुरानो चहलपहल नघटाउन पर्यटन प्रवद्र्धन जस्ता व्यवसाय जोड दिने र गाउँ–गाउँसम्म होलसेल बजारको रुपमा विकास गर्न लगानी बढाउनु पर्नेमा जोड दिए । व्यापार र व्यवसाय विस्तारका लागि बैंकहरूले पनि लगानी बढाउन व्यवसायीहरूले माग गरे ।
सदरमुकाममा रहेका बैंकका व्यवस्थापकहरूले पनि उद्देश्य अनुसारका व्यवसायमा प्रयोग गरे लगानी गर्न बैंकहरू तयार रहेको बताए । बैंकका शाखा प्रबन्धकहरूले दोलखाको बैंकिङ समस्या नभएको बताएका छन् । अधिकांश बैंकका शाखाहरू दोलखा आइसके तापनि व्यवसाय राम्रो भएकै कारण थप ३ वटा शाखाहरू चरिकोटमा आउन लागेको उनीहरूले जानकारी दिएका छन् । बैंकहरू पनि अस्वस्थ प्रतिस्पर्धाभन्दा पनि हातेमालो गर्दै काम गर्ने उनीहरूले बताएका छन् ।
महालक्ष्मी विकास बैंकका शाखा प्रमुख विश्वासराज पाण्डेले बैंकहरूले कृषि, लघुउद्यम र फास्ट ट्रयाकमा लगानी गर्ने गरेको बताए । तर, किसानहरूले ल्याउने परियोजना अनुसार बैंकले लगानी गरेको छन् । किसान र व्यवसायीहरूलाई ठूला योजनाहरू ल्याउन उनले आग्रह गरे ।
व्यवसायीहरूले साना तथा लघु कर्जामा झन्झटरहित रूपमा बैंकले घोषणा गरेकै समयमा लगानी गर्न आग्रह गरे । दसैं–तिहार जस्ता चाडबाडमा व्यवसायीहरूका लागि सरल रूपमा लगानी गर्न पनि बैंकहरूलाई आग्रह गरेका छन् । अधिकांशं बडापत्र नराख्दा बैंकमा जाँदा पु¥याउनु पर्ने प्रक्रियाबारे जानकारी नहुने हुँदा सबै बैंकले नागरिक बडापत्रसमेत चाँडै राख्ने निर्णय भएको छ ।