कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
484

डेभलपमेन्ट एलायन्स नेपाल प्रालिले हालै ‘क’वर्गका वाणिज्य बैंकहरूका कर्मचारीहरूलाई लक्षित गरी दुई दिने कृषि वित्त तालिम सम्पन्न गरेको छ । उक्त तालिममा नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौं, लक्ष्मी बैंक, मेगा बैंक, एनआईसी एसिया बैंक र सनराइज बैंक गरी ९ वटा वाणिज्य बैंकका २३ कर्मचारीहरू सहभागी थिए ।
वाणिज्य बैंकका कर्मचारीहरूलाई कृषि कर्जाको विश्लेषण सम्बन्धमा आवश्यक सीप र ज्ञान प्रदान गर्न यस किसिमको तालिम आयोजना गरिएको कम्पनीका कार्यकारी निर्देशक प्रसिद्ध सिंह सुवालले जानकारी गराए । डेभलपमेन्ट एलायन्स नेपाल प्रालि कृषि विकास बैंकबाट अवकाश प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञ समूहद्वारा प्रवद्धित संस्था रहेको र यसले आगामी दिनमा कृषि वित्त क्षेत्रमा सघाउ पु-याउन विभिन्न बैंक तथा वित्तीय संस्था एवं सरोकारवाला निकायहरूसंग सहकार्य गरी अगाडि बढ्ने सुवालले बताए ।

विगत लामो समयदेखि कृषि विकास बैंकले कृषि क्षेत्रलाई केन्द्रित गरी कर्जा लगानी गरिरहेकोमा गत आवदेखि सबै वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जा तथा सापटको १० प्रतिशत अनिवार्य रूपमा कृषि क्षेत्रमा मात्र कर्जा लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । यसअघि कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था रहँदा वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा कर्जा लगानी केन्द्रित गर्दै आएका थिए ।