कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
570

डेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने रेष्टुरेन्ट, टिकट काउन्टरलगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ । रेष्टुरेन्ट, टिकट काउन्टरलगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा हुने भुक्तानीमा सेवा प्रदायकहरुले लिने शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै सरकारले नगदको साटो कार्डको प्रयोग बढाउन खोजेको संकेत पनि दिएको छ ।
राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै ‘प्वाइन्ट अफ सेल’ मार्फत् हुने भुक्तानीमा कुनैपनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेपछि डेबिट तथा क्रेडिट कार्डमार्फत् हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्था भएको हो । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले लिएको उक्त नीति आइतबारकोे परिपत्रपछि औपचारिक रुपमा कार्यान्वयनमा आएको हो ।

‘प्वाइन्ट अफ सेल’ अर्थात पीओएस मेसिन भएका स्थानबाट वस्तु वा सेवा खरिद गर्दा सो वस्तु तथा सेवा खरिद गरेवापतको रकम ग्राहकको खाताबाट बिक्रेताको खातामा सोझै ट्रान्सफर हुनेछ । र यस्तो भुक्तानीमा कसैकसैले अतिरिक्त शुल्क लगाएका भएपनि धेरै बैंकहरुले त्यस्तो सेवा निशुल्क दिर्दै आएका छन् ।
यसका साथै, सरकारले चालु आर्थिक वर्षको बजेटमा क्यासलेस भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता गर्ने योजना ल्याएकोमा हाल क्यासब्याकको मोडालिटीमा छलफल भइरहेको र छिटै भ्याट फिर्ताको मोडालिटी ल्याउने पनि अर्थमन्त्रालयले जनाएको छ ।