यादव हुमागाई
मंगलबार, भदौ २४, २०७६
544

नेपाल राष्ट्र बैंकले बैंकलाई बिमा पोलिसीबिक्री गर्न रोक लगाएपछि बिमा कम्पनीहरूसहकारी संस्थातर्फ आकर्षित हुन थालेका छन् । बिमा कम्पनीलेव्यवसाय विस्तारका लागि सहकारीकासंघहरूका साथै प्रारम्भिक संस्थाहरूसँग सम्झौता गर्न थालेका हुन् ।
बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूका साथै सहकारीहरूलाई संस्थागत एजेन्ट बनाएर विभिन्न पोलेसीहरू बिक्री गर्दै आएका थिए । बैंकहरूले ऋणीलाई अनिवार्य बिमा गर्न बाध्य पारेको गुनासो बढेपछि राष्ट्र बैंकले बैंकहरूलाई कडाइ गरिसकेको छ । बैंकमा कडाइ गरेपछि बिमा कम्पनीहरूको ध्यान सहकारीतर्फ केन्द्रीत भएको हो ।

हालै बचत तथा ऋण सहकारीहरूको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले दुई वटा बिमा कम्पनीसँग सम्झौता गरेको छ । संघले निर्जीवन र जीवन बिमाका पोलेसी बिक्री गर्नेगरी प्रभु इस्योरेन्स र सिटिजन्स लाइफ इस्योरेन्ससँग सम्झौता गरेको हो ।
यसैगरी प्रारम्भिक संस्थाहरू समेत विभिन्न बिमा कम्पनीहरूको एजेन्ट बन्न थालेका छन् । यसैसाता चन्द्रागिरी सहकारीले सूर्या लाइफ इस्योरेन्ससँग सम्झौता गरेको छ । यसैगरी आइतबार नेचुरल सहकारीले पनि सिटिजन्स लाईफसँग सम्झौता गरेको छ ।
बैंकहरूले ऋणका ग्राहकलाई बिमाको अतिरिक्त भार बोकाएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको थियो । केन्द्रीय बैंकले जारी गरेको निर्देशन अनुसार अब बैंकहरूले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनौट गरेको बिमा कम्पनीबाट मात्र कर्जाको सुरक्षणस्वरूप राखिएको सम्पतिको मात्र बिमा गराउन पाउनेछन् । यसैगरी बिनाधितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएका कर्जाको हकमा कर्जा अवधिसम्मको लागि ऋणीको आवधिक जीवन बिमासमेत गराउन सक्नेछन् । यसबाहेक बैंकहरूले अन्य कुनै प्रकारका बिमा पोलेसी बिक्रीमा रोक लागेको छ । बैंकमा रोक लागेपनि सहकारीका नियामक निकाय र संघहरूको यसतर्फ ध्यान पुग्न सकेको छैन ।
बिमा पोलेसी बिक्रीवापत संस्थाहरूलाई कमिसन प्राप्त हुने भएकाले कमिसनको लोभमा संस्थागत एजेन्टहरूले आफ्ना ग्राहकलाई जवर्जस्ती बिमा पोलेसी खरिद गर्न बाध्य बनाउने गरेका छन् । यसैगरी बिमा कम्पनीहरूले एजेन्टमा काम गर्ने कर्मचारीहरूलाई समेत कमिसनलगायतका प्रलोभन दिने गरेका छन् ।
नेपाल लाईफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा बिमा सजिलै बिक्री गर्ने वस्तु नभएपनि बाध्य पारेर बिक्री गर्दा बजार दिगो नहुने बताउछन् ।
“बिमा जवरजस्ती बिक्री गर्ने विषय होइन,” उनले भने, “कसैले कुनै बाध्यतामा पारेर बिक्री गरेको छ भने त्यसले इन्स्योरेन्स व्यवसायप्रति नै नकारात्मकता ल्याउँछ ।” अहिले वित्तीय बजारमा तरलताको अभाव भएकाले ऋण पाउन ग्राहो हुँदा ग्राहकले बिमा गर्ने सम्झौता गरेपनि त्यस्तो बिमा नवीकरण नहुने र सर्वसाधारणलाई बिमाप्रति नै वितृष्णा फैलाउने उनको भनाइ छ ।