कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
422

एटीएमठगी काण्ड

एटीएमठगी प्रकरणमा भएको कमजोरीका सम्बन्धमा गहिरो अध्ययनका लागि तत्काल फरेन्सिकइन्भेष्टिगेसन गर्न छानबिन समितिले सुझाव दिएको छ । एटीएमठगीअध्ययनका लागि गठित समितिले दीर्घकालीन र अल्पकालीन समस्याहरूका समाधान औंल्याएर बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन बुझाएको हो ।
समितिले फरेन्सिक इन्भेष्टिगेसन गर्न सुझाव दिएपछि विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी नेप्सले सिंगापुर र हङकङबाट फरेन्सिकविज्ञ बोलाइसकेको छ ।बिहीबारसम्ममा विज्ञ नेपाल आइसक्ने भएकाले समस्या कहाँनेर भएको र कसको कमजोरीका कारण यस्तो घटना भयो भन्ने पत्ता लगाउन केही समय लाग्ने समितिले जनाएको छ ।

समितिले तत्कालका लागि एटीएमबाट रकम झिक्ने सीमा घटाउने, विद्युतीय भुक्तानी सेवाको बिमा गराउनेलगायतका सुझाव दिएको समितिका संयोजक तथा नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए ।“तुरुन्तै फरेन्सिक इन्भेष्टिगेसन गर्ने तथा वैकल्पिक माध्यमबाट सेवा सुचारु गर्न सुझाव दिएका छौ,” मिश्रले भने,“त्यसका साथै बैंकहरूले पूर्ण रूपमा चिप बेस्ड कार्डमात्र जारी गर्नु र सेक्युरिटी सिस्टमभित्र रहेका सेवा दिन समेत सुझाव दिएका छौं ।” त्यसका साथै समितिको प्रतिवेदनमा तोकिएको सीमाभन्दा धेरै पैसा एटीएमबाट निस्कासन गरेको खण्डमा अलार्म लाग्ने प्रणालीको पनि विकास गर्ने सुझाएको उनले बताए । कसको कमजोरी भयो वा यो अपराधको जिम्मेबार को भन्नेतर्फ भन्दा पनि फरेन्सिक इन्भेष्टिगेसनले जसको कजारेरी देखाउछ सोही संस्थाले दायित्व बहन गर्ने पनि उनको भनाइ छ ।
विभिन्न बैंकहरूको एटीएममार्फत ह्याकरले प्रभू बैंक, जनता बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंकको करिब ३ करोड ४४ लाख रूपैयाँ गैरकानुनी रूपमा झिकेपछि त्यसको अध्ययनका लागि नेपाल राष्ट्र बैंकले आइतबार समिति गठन गरेको थियो । ह्याकरले नेपाली बैंकका एटीएमबाट नेपाली रुपैयाँ १ करोड ७६ लाख र भारतीय बैंकका एटीएमबाट १ करोड ५ लाख भारु चोरी गरेका थिए ।
समितिले यो अपराधाको सन्दर्भमा विस्तृत तथ्य पत्ता लाउनका लागि फरेनन्सिक इन्भेष्टिगेसन गर्ने तथा चिप्स सहितको कार्ड तथा बिनापिन एटीएमले पैसा दिन नै नमिल्ने अवस्था कसरी दियो भन्ने कुरामा प्रतिवेदन केन्द्रित रहेको समितिका अर्का सदस्यले बताए । गत शुक्रबार र शनिबार चिनियाँ नगरिकले नेपालका केही एटीएमवाट गैरकानुनी रूपमा पैसा झिकेपनि ह्याकरले प्रयोग गरेका एटीएम सञ्चालन गरेका बैंकका कर्मचारीले थाहापाएपछि प्रहरीमा जानकारी भएकालेक्षति कम गर्न मद्दत पुगेको हो ।
ह्याकरले बैंक तथा सेवा प्रदायक कम्पनी नेप्सको सिस्टमसम्म नपुगेको प्रविधि विज्ञहरू बताउँछन् । ह्याकरले एटीएमबाट पैसा झिके पनि खातावालाको पैसा भने नघटेको हुनाले बैंकको सिस्टकसम्म ह्याकर नपुगेको प्रविधि विज्ञहरूको दावी छ । ह्याकरले कहाँसम्म एक्सेस गरेको छ भन्ने विस्तृत जानकारीका लागि फरेन्सिक इन्भेष्टिगेसन गरेपछि मात्र थाहा हुनेछ । नेपाल प्रहरीले पनि घटनाको अध्ययन गरिरहेको छ । घटनामा संलग्न ६ चिनियाँ नागरिकलाइ नेपाल प्रहरी पक्राउ गरी अध्ययन अनुसन्धान गरिरहेको छ ।