रजनी श्रेष्ठ
बुधवार, भदौ १८, २०७६
511

एटिएम ह्याक गर्ने चिनियाँ नागरिकहरुलाई बैंकिङ कसूर मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । तर चाडबाडको लामो छुट्टि नजिकिदै जाँदा नेपाली बैंकिङ सुरक्षा प्रणालीमा शनिबार अचानक देखिएको खतरा भने टरेको छैन ।
शुक्रबार चीनबाट नेपाल आएका चिनियाँ नागरिकहरूले शनिबार विभिन्न बैंकको एटिएम ह्याक गरी एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ लुटेका थिए । शनिबार एटिएममा अस्वभाविक कारोबार भएको देखिएपछि बैकले पुलिसलाई खबर गरेको थियो ।

बैंकका कर्मचारीले अस्वभाविक कारोबार नोटिस गरेपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)लाई जानकारी गराएका थिए । नविल बैंकका कर्मचारीले इमेलमार्फत नेप्सलाई जानकारी गराउने वित्तिकै नेप्सेले प्रभु बैंकलाई जानकारी गरायो । नेप्सको जानकारी पाउनेवित्तिकै प्रभु बैंकका सीओओ दिनेश थकालीले महानगरीय प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीलाई फोन गरेर तत्काल एक्सन लिइदिन आग्रह गरे ।
‘सामान्यतया एटिएममा एउटा कारोबार गर्न ५० सेकेन्डजति समय लाग्छ। त्यस्ता कार्ड प्रयोग गरिएका एटिएमबाट ह्वार्ह्वार्ती पैसा निस्केको देखिन्छ,’ पुलिसले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
प्रहरीले शनिबारकै दिन पाँच जना र आइतबार एक जना चिनियाँ मुलका फ्रेन्च नागरिकलाई राति प्रहरीले पक्राउ गरेको थियो भने दुई जना अझै फरार छन् । यससंगै पुलिसले मनिचेन्जरलाई पनि समातेको छ । ह्याकिङ गरेर फरार तीन जना चिनियाँको पैसा साट्ने नेपालीलाई पनि सोमबार दिउँसो ठमेलबाट पुलिसले पक्राउ गरको छ । एटिएम ह्याकिङ प्रकरणमा पक्राउ गरेका फ्रान्सेली नागरिक छु लुई, चिनियाँ नागरिकहरू लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, चेन बिनबिन र मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीमाथि पनि प्रहरीले भने अनुसन्धान सुरु गरेको छ । प्रहरीकाअनुसार चीनियाँ नागरिकहरू नेपाली एटिएमबाट पैसा लुट्ने योजना बनाएरै काठमाडौं आएको भन्ने कुरा खुलेको छ ।
एटिएम ह्याक गर्ने समूह पक्राउ परेपछि बैंक ग्राहकका संवेदनशील विवरण चोरी भएको पनि हुनसक्ने अनुमान गरिएको गर्दै प्रहरीले यसबारे राष्ट्र बैंक तथा बैकर्स एसोसिएसनका विज्ञहरूसँग परामर्श गरिरहेको छ । यसबाट नेपाली बैंकिङ सुरक्षा प्रणालीमा ठूलो खतरा भएको पनि प्रहरीले औंल्याएको छ ।
नविल बैंकका कर्मचारीको चलाखी, प्रभु बैंकका कर्मचारीको सक्रियता र प्रहरीको ‘फास्ट रेस्पोन्स’का कारण लुटेराहरु पक्राउ परे तापनि खतरा भने नटरेको प्रहरी सूत्रको भनाइ छ । किनकि नजिकिदै गरेको दशै तथा तिहारमा लामो बिदा हुनेहुँदा उक्त समयमा बैक तथा वित्तीय संस्थाका सिष्टम कसरी सुरक्षित राख्ने भन्नेबारे बैकहरुले बेलैमा सचेत नभए अर्को ठुलो दुर्घटना नहोला भन्ने छैन । लुटेराले बिदाको समयमा नै यस्ता घटना घटाउने यस अघि पनि एनआइसी एशिया बैकमा तिहारको छुट्टिमा स्विफ्ट हयाक भएबाट पुष्टि हुन्छ ।