कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
567

मुलुकको प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले ‘माटो’ ब्रान्डमा विषादीमुक्त तरकारी बजारमा ल्याएको छ । गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रालिले माटो ब्रान्डमा कृषिउपजको उत्पादनसँगै बिक्री सुरु गरेको समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । उनका अनुसार समूहद्वारा उत्पादित तरकारी सम्पूर्ण रूपमा विषादी रहित छन् भने यसले मानव स्वास्थ्यको रक्षासँगै मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रणमा योगदान पु-याउने लक्ष्य राखेको छ ।
गोल्यान एग्रो प्रालिले पहिलो चरणमा झापाका विभिन्न स्थानमा २ सय बिघा जग्गा खरिद गरेर व्यावसायिक फार्मको स्थापना गरेको छ । जसबाट देशको आवश्यकताअनुसार तरकारी तथा कृषिउपज उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । उत्पादनमा आफैं अग्रसर गोल्यान समूहले देशभरबाट प्रांगारिक कृषिउपज संकलन गरी माटो ब्रान्डमार्फत बजारीकरण गर्नेछ ।

किसानबाट तरकारी तथा कृषिउपज संकलन गर्दा उनीहरूको उत्पादन प्रणालीसँग जोडिएर प्रांगारिक उत्पादन भएको प्रमाणित भएपछि मात्र खरिद गरिने गोल्यानले बताए । “हामी शतप्रतिशत विषादीमुक्त र प्रांगारिक प्रमाणित नभएसम्म किसानबाट कृषिउपज खरिद गर्दैनौं,” गोल्यान भन्छन्, “हामीले माटो ब्रान्ड भनेकै प्रांगारिक कृषिउपजको पर्याय हो भनेर स्थापित गर्न चाहेकाले गुणस्तरप्रति सधैँ सचेत रहनेछौं ।”
हाल बजारमा विषादीयुक्त तरकारीको बिगबिगी छ । भारतबाट आयातित तरकारीमा विषादी परीक्षण सुरु गरिए पनि उक्त निर्णय एक साता नबित्दै फिर्ता भयो । यसरी आयातित तरकारीले एकातर्फ व्यापारघाटा बढाएको र अर्कोतर्फ विषादीयुक्त तरकारी सेवनका लागि आम सर्वसाधारण बाध्य भएको भन्दै गोल्यान समूहले माटो ब्रान्डमार्फत विषादीमुक्त नेपाल निर्माण गर्ने अभियानको सुरुवात गरेको हो । अध्यक्ष गोल्यानका अनुसार प्रांगारिक तरिकाले उत्पादन गरिएको तरकारीमा शून्य विषादीसँगै फलफूलमा ५० प्रतिशतसम्म बढी एन्टी अक्सिडेन्ट (रोग प्रतिरोधक) क्षमता रहन्छ ।
माटो ब्रान्डमार्फत मौसमी तरकारीसँगै फलफुल, चिया, कफी, मसला, वासनादार चामल, महलगायतका सबैखाले कृषिजन्य उपजहरू उपलब्ध हुने जनाइएको छ । यस्तै, यी उत्पादन काठमाडौंका भाटभटेनी, बिगमार्टलगायतका डिपार्टमेन्टल स्टोरहरूमा सहजै उपलबध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।