कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६
776

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको आधार ब्याजदर करिब एक प्रतिशतले घटेको छ । बैंकहरूको आधार ब्याजदर गणना विधिमा भएको परवर्तन तथा निक्षेपको ब्याजदरमा बैंकहरूको भद्र सहमतिका कारण आधार ब्याजदर घटेको हो । आधार ब्याजदर घट्दा कर्जाको ब्याजदरमा समेत कमी आउने भएकाले यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दछ ।
बैंकहरूको आधार ब्याजदर बढ्दा बजारमा महँगी बढ्न जान्छ । लगानीकर्ताले बैंकबाट उच्च ब्याजदरमा कर्जा लिनुपर्दा त्यसबाट उपभोक्तामासमेत असर पर्छ । त्यसका साथै कर्जा प्रवाहको अनुपातमा पनि कमी आउनसक्छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरूले आधार ब्याजदर गणना गर्दा सम्पत्तिमा भएको प्रतिफल जोड्न नपाउने व्यवस्था गरेको छ । यसअघि बैंकहरूले सम्पत्तिमा भएको प्रतिफलवापत ०.७५ प्रतिशत आधार ब्याजदर गणना गर्दा समावेश गर्न पाउने व्यवस्था थियो । त्यसका साथै बैंकहरूले निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गरेर ९.७५ प्रतिशतसम्म कायम गरेपछि त्यसले आधार ब्याजदर घट्न मद्दत गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बताउँछन् ।
अघिल्लो आर्थिक वर्ष बैंकहरूको औसत आधार ब्याजदर १०.४२ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा यस्तो दर घटेर ९.५५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासपछि कर्जा लगानीयोग्य रकम (तरलता)को अभाव भएपछि बैंकहरूको कस्ट अफ डिपोजिटसमेत बढेको थियो । पुँजी, कर्जा तथा निक्षेप (सीसीडी) अनुपात ८० प्रतिशत राख्नुपर्ने व्यवस्थाका कारण बैंकहरूले कर्जा प्रवाहका लागि निक्षेप वढाउन जरुरी भयो । बैंकहरूले गत आर्थिक वर्षको सुरुवातमै आक्रामक रूपमा कर्जा प्रवाह गरेपछि कर्जा लगानीयोग्य पुँजी अभावका कारण कर्जा प्रवाह नै नियन्त्रण गर्नुपर्ने अवस्था आएको थियो ।
बैंकरहरूले समग्र अर्थतन्त्रको हितका लागि भन्दै निक्षेपको ब्याजदरमा भद्र सहमति गरेपछि ब्याजदर केही स्थिर जस्तो देखिए पनि गत आर्थिक वर्षमा कर्जाको ब्याजदर भने घट्न सकेन । अझै पनि बैंकहरूको आधार ब्याजदर घटेको भनिए पनि कर्जाको ब्याजदर नघटेको उद्योगी व्यवसायीहरूको गुनासो छ । गत आवको तेस्रो त्रैमासदेखि बैंकहरूले आधारदरमा केही कमी गर्न थालेको भए पनि त्यसको प्रभाव कर्जाको ब्याजदरमा अझै पनि देखिन सकेको छैन ।
बैंकहरूले कर्जा प्रवाहका लागि निक्षेपको ब्याजदर बढाएर निक्षेप आकर्षित गरेकाले पनि गत आवको सुरुवातीमा आधार दर उच्च भएको हो । तर, गत आवमा पछिल्ला त्रैमासमा बैंकहरूले त्यसलाई सच्याउन थालेपछि अन्तिसम्ममा एक प्रतिशतले भए पनि कम गर्न सफल भएका हुन् ।
गत आवमा १२ वाणिज्य बैंकको आधार ब्याजदर दोहोरो अंकभन्दा माथि छ भने १५ वाणिज्य बैंकको आधार ब्याजदर ९ अंकको हाराहारीमा छ । गत आवमा नेपाल बैंकबाहेक सबै वाणिज्य बैंकको आधार ब्याजदर घटेको छ ।
अघिल्लो आवमा सरकारी स्वमित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर ६.२० प्रतिशत रहेकोमा चालू आवमा ५.५० प्रतिशतमा झरेको छ । गत आवमा सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंकको ११.२९ प्रतिशत आधार ब्याजदर रहेको छ । बैंकको अघिल्लो आवमा आधार ब्याजदर १२.०८ प्रतिशत थियो । त्यसैगरी गत आवमा सबैभन्दा धेरै आधार व्याजदर एनआईसी एसिया बैंकको घटेको छ । एनआइसी एसिया बैंकको अघिल्लो आवमा ११.५० प्रतिशत रहेको आधार ब्याजदर घटेर गत आर्थिक वर्षमा ९.४८ प्रतिशतमा झरेको छ । गत आवमा नेपाल बैंकको आधार ब्याजदरमा भने कुनै परिवर्तन आएको छैन ।