कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६
391

राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेसनल नेपालबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा.शम्भुनारायण महतोले हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि हेफर इन्टरनेसनल नेपालको सिफारिसमा बाख्रपालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरापालनमा संलग्न सहकारी सदस्यका कृषकहरूलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने बैंकले जनाएको छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले कृषि उद्यमी गर्न चाहने कृषकहरूलाई सहुलियत रूपमा कर्जा लगानी गरिने बताए ।
श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २ सय २२ वटै शाखा कार्यालयबाट यो कर्जा लिन सकिने पनि बताए । हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले उक्त सम्झौता नेपालको गरिबी निवारणमा कोसेढुंगा सावित हुने बताउँदै हेफर इन्टरनेसनल नेपालको सिफारिसबमोजिम लगानी भएको कर्जाको असुलीमा हेफरको पनि नैतिक दायित्व रहने बताए ।