कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
345

म्याग्दी- सहकारीका सञ्चालक र प्रवन्धकको उपस्थितमा बेनीमा सहकारीको ब्याजदरसम्बन्धी अन्तक्रिया गरिएको छ । पूर्वरजिष्ट्रार सुदर्शन ढकाल र राष्ट्रिय सहकारी बैंक सञ्चालक रामबहादुर जिसिले सहकारी ब्याजदरसम्बन्धी जानकारी गराएका थिए ।
सहकारी संस्थाको ब्याजदरलाई ब्यवस्थित गर्न ऐनमा सहकारीले लिने र दिने ब्याजदर ६ प्रतिशतभन्दा बढी लिन नपाइने व्यवस्था छ । सहकारीले कर्जा प्रवाहमा लिने ब्याजमा बेतिथि बढेको बताउँदै सहकारी बैंक, बहुउद्देश्यीय, बचत र लघुवित्त सहकारीले १६ प्रतिशतभन्दा बढी लिन नपाइने बनाएको छ । त्यसबारे जिल्लाको फाइदा र बेफाइदाबारे संघको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

सहकारीको ऐन, नियमावली, चुनौतीहरू र सिद्धान्तबारे पूर्वरजिष्ट्रार ढकालले सहकारीका सञ्चालक र कर्मचारीलाई जानकारी गराएका थिए । उनले वित्तीय सहकारीहरूलाई ऐन नियममा प्रभावकारी सञ्चालन गराउन संघ, प्रदेश र स्थानीयतहहरूमा अनुगमन गर्ने कर्मचारीको अभाव भएको बताए ।
नेपालमा सहकारी सेवाग्राहीविच विश्वाशिलो बन्न नसकेको बताउँदै बचतको सुरक्षा, सेवा प्रवाहमा भरपर्दो बनाउनतर्फ लाग्न सञ्चालकलाई आग्रह गरेका थिए । उनेल युरोपेली देशमा सहकारीबिना व्यवसायीलाई कारोबार गर्न अप्ठ्यारो हुने बताउँदै नेपालमा अझै सहकारी विश्वाशिलो रूपमा जनतामा विकास हुन नसकेको जानकारी दिए । सहकारी धनाढ्यहरूको मात्र कमाउने धन्दा भएको बताउँदै गरिबहरूको जीवनस्तर सुधार गर्ने हिसाबले कारोबार बढाउन लाग्न सहकारीका सञ्चालक र प्रवन्धकलाई सुझाव दिएका थिए ।
त्यस्तै अन्तरक्रियामा रामबहादुर जिसिले सहकारी संघको भूमिका र दायित्वबारे जानकारी गराए थिए । जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले जिल्लामा २ सय ४३ सहकारी रहे पनि संघमा १ सय ३६ सहकारी आबद्ध रहेको जानकारी दिँदै सबैलाई आबद्ध गरेर जिल्लाको सहकरीलाई जनतामाझ भरपर्दो बनाउन लाग्ने बताए ।