कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६
540

ई–सेवाक्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नका लागि ई–सेवा फोन पे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा ई–सेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा यूके एडको सक्षमकातर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।
यस सम्झौतामार्फत स्थापित गरिएका ई–सेवा क्यास पोइन्टले डिजिटल माध्यममार्फत ग्रामीण उपभोक्ताहरूलाई वित्तीय सेवाहरू प्रदान गर्नेछन् । यस परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाहरूमा आमनागरिकहरूको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरूमा नवीन डिजिटल वित्तीय सेवाहरूको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने हो ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, “डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दाहरूलाई वित्तीय सेवामा पहुँच प्रदान गर्नका लागि यूके एडको सक्षमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।
हामी ई–सेवा क्यास पोइन्टको प्रणाली स्थापित गर्ने छौं जसले ग्रामीण भेगमा कम सेवा पाइरहेका वा सेवा नै नपाइरहेका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधानहरू प्रदान गर्न सक्छन् । त्यसको नतिजा स्वरुप बढी कारोबार लागत भएका सेवाहरूको विकल्प क्यास पोइन्ट हुन सक्छ र वित्तीय सेवाप्राप्त गर्ने जनसंख्याको हिस्सा पनि वृद्धि गर्नेछ ।
सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौताबमोजिम सञ्चालन भैरहेको एक कार्यक्रम हो । यसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझदारीमा कार्यान्वयन गरिरहेको छ ।
ई–सेवा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको लाइसेन्स् प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । ई–सेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल छ ।