कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६
254

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न हरेक नेपाली स्वावलम्बी हुनुपर्ने विचार व्यक्त गरिन् ।
स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालयले स्वावलम्बी संस्कारले मुलुक आत्मनिर्भर हुने बताइन् । लघुवित्त कार्यक्रम महिलालाई स्वावलम्बी बनाउने अभियानमा जुटेको कारण उनीहरूको आर्थिक सामाजिक अवस्थामा स्तरोन्नतिका लागि उनीहरूलाई लघुउद्यम बनाउनसमेत लघुवित्तले मार्गप्रशस्त गरेको बताइन् ।

केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले केन्द्रले विगत २८ वर्षदेखि न्यून आय भएका वर्गलाई स्थानीय स्रोत र साधनको प्रयोगको माध्यमबाट आर्थिक अवस्थामा सुधार गर्न विभिन्न उद्यमशीलता विकास कार्यक्रम कार्यान्वयन गर्दै आएको र हाल लघुवित्त संस्थाको सवलीकरणका लागि कार्यरत रहेको बताए । हाल लघुवित्तमा देखिएका विचलनहरूलाई न्यूनीकरण गर्न सबै लघुवित्त संस्थाहरू अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
केन्द्रले प्रदान गर्ने लघुउद्यमशीलता विकास पुरस्कारबाट यस वर्ष काभ्रे जिल्लास्थित मानुषी लघुवित्त वित्तीय संस्था एक लाख नगदसहित पुरस्कृत भयो । समारोहका प्रमुख अतिथि तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अर्यालले उक्त पुरस्कार संस्थाका अध्यक्षलाई हस्तान्तरण गरे । सो अबसरमा दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा योगदान पु¥यायबापत विभिन्न संस्थाहरूलाई सम्मान गरिएको थियो ।