कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
236

लघुवित्त क्षेत्रमा विद्यमान चुनौती र अबको कार्यदिशा निर्धारण विषयक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भयो । स्वावलम्बन विकास केन्द्रको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाई, गराई, भोगाई र सोचाइ विषयमा सामूहिक छलफल भएको थियो । गोष्ठीमा लघुवित्त क्षेत्रका अग्रणी तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमलाई गतिशील राख्न यसको मूल मर्म सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिए ।
लघुवित्त क्षेत्रमा हाल देखा परेका विकृति र बिचलनका कारण यस क्षेत्रको प्रतिष्ठामा नै आँच आउने संकेत देखिएको उनले बताए । लघुवित्तमा उद्यमशीलता विकास महत्वपूर्ण हुने भएकाले लघुवित्त संस्थाहरू ग्राहक सदस्यहरूलाई स्थानीय स्रोत र साधनको भरपुर प्रयोग गरी कसरी उद्यमशीलता विकास गर्ने भन्ने विषयमा केन्द्रीत हुनुपर्ने सहभागीहरूको भनाइ थियो ।
स्वच्छ लघुवित्त कार्यान्वयनका लागि सम्मेलनले एउटा कार्यदिशा तय गर्ने विश्वास गरिएको छ । लघुवित्तलाई सामाजिक व्यवसायका रूपमा नभई नाफामूलक दृष्टिकोणले हेर्ने प्रवृत्तिमा बढोत्तरी हुँदै आएको कारण विभिन्न किसिमका बिचलन देखापरेको र त्यसप्रकारका विचलनले विपन्न तथा न्यूनआय भएको वर्गको आर्थिक सामाजिक विकासमा बाधा पुग्ने देखिएको छलफलमा उठेको थियो ।