कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
537

देवः विकास बैंक लिमिटेडले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार प्रारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उक्त कारोबारको शुभारम्भ गरे । कार्यक्रममा देवः विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले ६ वटा बैंक तथा वित्तीय संस्थाहरु समाहित देवः विकास बैंक लि.ले शाखा सञ्जालको बृद्धिलाई उपयोग गर्दै बैंकले आफ्नो व्यवस्थापनलाई पनि थप सुदृढ गरी सेवाग्राहीलाई सहज एवं सरल बैंकिङ सेवा प्रदान गर्ने एवं लगानीकर्तालाई उचित प्रतिफल प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्र बैंकका गभर्नर डा. नेपालले केन्द्रीय बैंकले अघि सारेको मर्जर तथा प्राप्ति नीति बारे चर्चा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले मर्जर तथा प्राप्तिको अवसरलाई उपयोग गरी बैंकको वित्तीय आधारलाई बलियो बनाएर अन्तरराष्ट्रिय आर्थिक क्षेत्रमा समेत व्यवसायिक पहँुच पु¥याउन सक्षम हुनु पर्ने बताए । देवः विकास बैंकले गुणस्तरिय बैकिङ सेवाको विकासमा समेत जोड दिएर उत्कृष्ट बैंकको रुपमा स्थापित हुने विश्वास पनि उनले व्यक्त गरे ।

यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले प्राप्ति पछिको कारोवारमा लगनाीकर्ताहरुको धितोपत्र कारोवारलाई पनि ध्यान दिएर अगााडि बढ्न सुझाव दिए ।
कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपालका अध्यक्ष गोविन्द ढकालले आगामी मौर्दिक नीतिमा एशोसियशनको तर्फबाट दिइएका सुझावहरुलाई समेटिनेमा विकास बैंकहरु विश्वस्त रहेको बताउँदै पुँजीको आधारमा ठूलो विकास बैंक भएकोमा बधाई पनि दिए ।
यसै गरी कार्यक्रममा साविक वेष्टर्न डेभलपमेन्ट बैंक लि.का. संचालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकीले मन्तव्य राख्दै नयाँ नेतृत्वले संस्थाको नीति नियम भित्र रहेर दृढ संकल्पले संस्था अगाडि बढाउनु पर्ने विचार राखे । कार्यक्रमको अन्त्यमा सभाका सभापति एवं देवः विकास बैंक लि.का अध्यक्ष नेपाली सेनाका उपरथी बज्र गुरुङले एक्युजिशन कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने नियमनकारी निकायहरु लगायत सम्पूर्ण सरोकारवालहरुलाई धन्यवाद ज्ञापन गरेको बैकका बरिष्ठ प्रबन्धक नवीनमुनि बज्राचार्यले बताए ।