कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
744

नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरूको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले यस सहमतिले तल्लो तहका उद्यमीहरूसम्म वित्तीय पहुँच पु-याउन सहज हुने बताए । झन्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको र ६० जिल्लामा जिल्ला महिला उद्यमी समितिअन्तर्गत ११ हजारभन्दा बढी महिला उद्यमीहरू रहेको र २४ वटा वस्तुगत संघहरू समेतको गणना गर्दा झन्डै अर्को एक लाख उद्यमी सदस्य छन् ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले औद्योगिक क्षेत्रको एउटा प्रमुख संस्थासँग सरकारद्वारा घोषित सहुलियत कर्जा प्रवाहमा गरिने सहकार्यले उद्यमशीलताको विकास हुन गई सुखी नेपाली, समृद्घ नेपालको राष्ट्रिय अभियानलाई सहयोग पु-याउने बताए ।