कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
391

दोलखाको सबैभन्दा पुराना सहकारी संस्था कालिञ्चोक सहकारी र मिलीजुली बचत तथा ऋण सहकारी मर्ज हुने भएका छन् । दुवै संस्थाबीच एकीकरणसम्बन्धी हस्ताक्षर भएको छ । मिलीजुलीले गगनचुम्बी साकोसलाई गाभ्ने सम्झौता गरेको एक साता नबित्दै पुरानो सहकारी कालिञ्चोकसँग मर्ज सम्झौता गरेको हो ।
सम्झौतामा मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुुर श्रेष्ठ र कालिञ्चोक सहकारी संस्थाका अध्यक्ष राजेश उप्रेतीले हस्ताक्षर गरेका छन् । मर्जपछि संस्था दर्ता नं. कालिञ्चोकको कामयम हुने र नाम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था राख्ने सहमति भएको छ । कालिञ्चोक सहकारी दोलखाको पहिलो सहकारी हो ।

कालिञ्चोक सहकारी स्थापनाको मिति स्पष्ट नभए तापनि सरकारी आधिकारीक दर्ता ३६ औं नं. २०३४ छ । तर, कालिञ्चोक सहकारीको नाममा २०२२ सालमा चरिकोट पुरानो बजारमा खरिद गरेको पुर्जासमेत छ । यस आधारमा यो सहकारी २०२० भन्दा अघि नै स्थापना भएको हुन सक्ने अनुमान छ । कालिञ्चोक सहकारी संस्था वि.सं. २०३४ सालमा मध्यमाञ्चल श्रेत्रीय सहकारी कार्यालय काठमाडौंमा दर्ता छ ।
सरकारी अभिलेखमा ३५ नं. सम्मका सहकारी दर्ता भने छैन । एकीकरणपछि मिलीजुलीले पुरानो इतिहाँस पाएको छ भने कालिञ्चोकले सबैभन्दा ठूलो पुँजी पाएको कालिञ्चोक सहकारीका अध्यक्ष राजेश उप्रेतीले बताए । अब एकीकरणपछि सहकारी संग्रहालय बनाउने योजना रहेको उनले जानकारी दिए ।
पुँजी अर्ब बढी
मिलिजुली र कालिञ्चोक सहकारी संस्थाबीच एकीकरणपश्चात् कुल कारोबार १ अर्ब ८ करोड पुग्ने भएको छ । हाल मिलिजुलीको १ अर्ब ३ करोड छ भने कालिञ्चोक सहकारी संस्थाको ५ करोड बराबरको कारोबार छ । त्यस्तै सेयर सदस्य २१ हजा ९ सय पुग्ने भएको छ, हाल मिलिजुली साकोसको २१ हजार सेयर सदस्य र ७ हजार बाल सदस्य छन् भने कालिञ्चोक सहकारीको ९ सय सेयर सदस्य रहेका छन, कतिपय सदस्य दोहोरिएकोले यो संख्या घट्ने अनुमान छ ।
लामो समय निश्क्रिय रहेको संस्था २०७१ असार ३० गते डिभिजन सहकारी कार्यालय दोलखाले पुनः सञ्चालनका लागि अनुमति दिएपछि सहकारीले पुनर्जीवन पाएको हो । मिलिजुली साकोस एसियाली ऋण महासंघ (अकु)को प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघद्वारा सञ्चालित एक्सेस कार्यक्रमअन्तर्गत सिल्भर ब्रान्ड प्राप्त संस्था हो ।
जिल्लामा एकीकरणको लहर
मिजीजुलीले कालिञ्चोकसँग एकता भएको १२ औं सहकारी हो । यसअघि ११ वटा सहकारी संस्थालाई आफूमा गाभेर एकीकृत कारोबारसमेत सुरु गरेको मिलीजुली साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए । केही सहकारीहरूसँग एकीकरणका लागि छलफल समेत चलिरहेको उनले बताए ।
दोलखा जिल्लामा पछिल्लो समय एकीकरण गर्ने लहरनै चलेको छ, शनिबार मात्रै चरिकोटमा नै रहेका दुई ठूला सहकारी जनहित सहकारी संस्था र अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लि. बिच एकीकरण गर्ने सम्झौता गरेका छन । तिनीहरूको असार २८ गते एकीकरणको घोषणा गर्ने जनाएका छन् । त्यसअघि काल्ञ्चिोक गाउँपालिकामा रहेको आनान्ददायक बहुउद्देश्यीय सहकारी संस्थाले एउटा र बैतेश्वर गाउँपालिका स्थित काब्रेमा रहेको जनसचेतन साकोसले एउटा सहकारी आफूमा गाभेका छन् । चरिकोटमा नै रहेको हाम्रो जनकल्याण साकोसले २ सहकारी संस्थालाई एकीकरण गरेको थियो ।
केही वर्षअघि दोलखाकोे जिरीमा रहेका ९ वटा सहकारी एकीकरण भएर एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी बनेपछि त्यसले देशभर एकीकरणको सन्देश गएको थियो । अहिले फ्रेण्डसिपमा मर्जहरू सहकारी १२ वटा पुगेका छन् । दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले दोलखामा सहकारी एकीकरण अभियान चलेको बताए । एक वर्षको बीचमा डेढ दर्जन साना ठूला सहकारी मर्ज भइसकेको बताए ।