भुवन पौडेल
शुक्रवार, असार १३, २०७६
692

२ साताभित्रै साझेदार टुंग्याई राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको संख्या घटाउन दबाब नै सुरु गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति आउनुअघि नै हरेक बैंकले पार्टनर खोजेर जानकारी दिन निर्देशन दिएको हो ।
बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नरले वाणिज्य बैंकका उच्च अधिकारीहरूसँग छलफल गर्दै मौद्रिक नीति आउनुअघि उपयुक्त पार्टनर निश्चित गर्न भनेका हुन् । गभर्नरसहित केन्द्रीय बैंकको टोलीले विकास बैंक तथा फाइनान्स कम्पनीका उच्च अधिकारीसँग पछि छुट्टाछुट्टै छलफल गरेको छ । केन्द्रीय बैंकले बैंकहरूको संख्यामा उल्लेख्य रूपमा घटाउन खोजेको बुझिन्छ । हाल सञ्चालनमा रहेको तीन सरकारी लगानीसहित २८ वाणिज्य बैंक रहेका छन् । ती मध्ये केन्द्रीय बैंकले १० देखि १४ मा झर्न खोजेको देखिन्छ । तर, बैंकहरू भने केन्द्रीय बैंकले भनेअनुसार नै बैंकहरूको संख्या घट्ने सम्भावना भने कम रहेको बताउँछन् ।

बैंकहरूले मौद्रिक नीतिभन्दा अघि नै मर्जरको पार्टनर खोजेर आएको खण्डमा मौद्रिक नीति ल्याउन सहज गभर्नरको भनाइ रहेको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए । बिहीबार गभर्नरसहित केन्द्रीय बैंकको टोलीसँगको छलफलपछि बैंकहरूले पार्टनर खोज्न सुरु गरेको हुनसक्ने बताउँदै ढुङ्गानाले भने, “केन्द्रीय बैंकले भने अनुसार नघटेपनि १५ देखि २० को संख्या वाणिज्य बैंक खुम्चिने देखिन्छ ।” केन्द्रीय बैंकले सबै बैंकहरू मर्जरमा जाने भनेपछि केही ठूला बैंकहरू मर्जरमा जाने सम्भावना कम रहेको पनि उनले बताए ।
मर्जरको गएका खण्डमा बैंकहरूले पाउने सहुलियतको विषयमा छलफल भए पनि मौद्रिक नीतिमा व्यवस्था गर्नका लागि आगामी २ साताभित्र पार्टनर खोज्न केन्द्रीय बैंकले बैंकका अधिकारीहरूलाई निर्देशन दिएको हो । सरकारले बजेटमार्फत मर्जरमा गएका संस्था कर छुटको व्यवस्था गरिसकेको भए पनि केन्द्रीय बैंकमार्फत हुने अन्य पोलिसी दरहरूका छुटका विषमा मौद्रिक नीतिले व्यवस्था गर्ने भएकाले पनि केन्द्रीय बैंकले मौद्रिक नीतिभन्दा अघि नै प्रक्रिया सुरु गर्न दवाव दिएको हो ।
छलफलमा गभर्नरले विकास बैंकहरूलाई पनि अझै संख्या घटाउन भनेका छन् । मर्जरको नीतिले उच्च दरमा विकास बैंकको संख्या घटेको भए पनि अझै घटाएर राम्रो हुने सुझाव गर्भनर दिएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द ढकालले जानकारी दिए । क्षेत्रीय तथा तीन जिल्ले विकास बैंकलाई पुँजीका आधारमा पनि सञ्चालनका लागि केही कठिनाई भएकाले ती संस्थाहरू मर्जरमा गए झनै राम्रो सुझाव गर्भनर दिएको उनले बताए । बिहीबारको छलफलमा विकास बैंकको संख्या घटाउने तथा मर्जरमा जाने संस्थाले नीतिगत दरमा घटाउने तथा कर छुट दिने विषयमा छलफल भएको ढकालले बताए ।
तर, फाइनान्स कम्पनीहरूका उच्च अधिकारीसँगको छलफलमा केन्द्रीय बैंकको टोली मौद्रिक नीतिकै विषयमा केन्द्रित रहेर छलफल गरेको फाइनान्स एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधरले जानकारी दिए । गभर्नरले अफ्ठ्यारोमा भएका फाइनान्स कम्पनी मर्जरमा गए उपयुक्त हुने सुझाव दिएको उल्लेख गर्दै तुलाधरले भने, “वाणिज्य बैंक तथा विकास बैंकलाई जस्तो समयसीमा नै तोकेर फाइनान्स कम्पनीलाइ निर्देशन दिइएन ।”
पछिल्लो समयमा मौद्रिक नीति ल्याउने समय नजिकिँदै गएपछि केन्द्रीय बैंक वाणिज्य बैंकको संख्या घटाउने कसरमा देखिएको छ । वाणिज्य बैंकको संख्या अर्थतन्त्रको आकारको तुलनामा धेरै भए भनिए पनि हाम्रो अर्थतन्त्रका लागि कति बैंक वित्तीय संस्था आवश्यक हो भन्ने सन्दर्भमा भने कुनै अध्ययन अनुसन्धान भने भएको छैन । कुनै एक व्यक्ति वा संस्थाले संस्था धेरै भयो भनेर हतारमा संख्या घटाउन खोज्दा वित्तीय प्रणालीमा आउनसक्ने जोखिमका विषयमा पनि केन्द्रीय बैंकले ध्यान दिन जरुरी देखिन्छ ।