कारोबार संवाददाता
बिहिवार, असार १२, २०७६
733

 स्वावलम्बन विकास केन्द्रको आयोजना मंगलबारदेखि धुलिखेल, काभ्रेमा लघुवित्त संस्थाहरूको मानव संशाधन व्यवस्थापन विषयको सम्मेलन सुरु भएको छ । उक्त सम्मेलनमा २४ लघुवित्त संस्थाहरूबाट ३५ जना लघुवित्तका उच्च व्यवस्थापकीय पदाधिकारीहरूको सहभागिता छ ।
मानव संशाधन व्यवस्थापन र विकासमा देखिएका समस्या, अवरोध र चुनौतीहरूको पहिचान गरी सुधारका उपायहरू पहिल्याउन र लघुवित्त कार्यक्रमको दर्शन र सिद्धान्त अनुरुप अगाडि बढाउन चाहिने मानव संशाधन र सकारात्मक सोच भएको जनशक्ति निर्माण तथा व्यवस्थापन गर्न सीप र दक्षता वृद्धि गर्ने प्रयास यस सम्मेलनको छ ।

सम्मेलनको उद्घाटन गर्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले भने, “लघुवित्त कार्यक्रमको सफलता, लघुवित्त संस्थामा काम गर्ने कर्मचारीहरूको सोच, संस्कार, लगनशीलता र इमान्दारितामा निर्भर हुने भएकोले उनीहरूमा सीप र दक्षता वृद्धिका साथै गरिबी निवारणका लागि पनि सकारात्मक सोच राखी काम गर्ने पद्धतिको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ ।”
यस क्रममा ग्रामीण बैंक बंगलादेशका जनशक्ति विकासको सिद्धान्त, नीति र पद्धतिका बारेमा अनुभव बटुल्न उक्त बैंकको जनरल म्यानेजर मोहम्मद अबुल हुसेनबाट अनुभव प्रस्तुतीकरण गर्ने कार्य भएको छ । साथै व्यवस्थापन विज्ञ विकल शेरचनले कर्मचारीमा आवश्यक उत्प्रेरणा र प्रभावकारी संवादको महत्वबारे समेत प्रस्तुतीकरण गरे ।
यस सम्मेलनमा मानव संशाधन विकास, कर्मचारी व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, संस्थागत सुशासन, ऋण व्यवस्थापनलगायत अन्य विषयमा ग्रामीण बैंकको अभ्यास र अनुभव प्रस्तुत गर्ने र मानव संशाधनमा रहेका विद्यमान समस्या र चुनौतीका विषयमा समूहगत छलफल र प्रस्तुतिकरण कार्यक्रमसमेत राखिएको छ ।