कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
279

नेसनल बैंकिङ इन्स्च्युट (एनबीआई) र ‘अफ्लाटोन इन्टरनेसनल’ बीच दक्षिण अफ्रिका, जोहानेस्वर्गमा आयोजित एक समारोहकाबीच सम्झौता सम्पन्न भएको छ ।
‘अफ्लाटोन इन्टरनेसनल’ नेदरल्याण्डमा आधारित एक गैरसरकारी संस्था हो । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) का प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बा र अफ्लाटोन इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत रोयल्यान्ड मोनाशद्वारा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौता मार्फत अफ्लाटोन इन्टरनेसनलद्वारा विकास गरिएका वित्तीय साक्षरतासम्बन्धी विशिष्ट औजारहरूमा नेसनल बैंकिङ इन्स्टिच्युटको सहज पहुँच पुग्नेछ । नेसनल बैंकिङ इन्स्टिच्युट र अफ्लाटोन इन्टरनेसनलको साझेदारी तथा विभिन्न सम्बद्ध पक्षहरूको सहभागितामार्फत युवा तथा बालबालिकाहरूका लागि सामाजिक तथा वित्तीय शिक्षाको व्यवस्था गर्नका लागि योजना निर्माण गर्नु, बहस पैरवी गर्नु र सामाजिक तथा वित्तीय शिक्षाको विकास गर्नु यस सम्झौताको मुख्य उद्देश्य छ ।
नेदरल्याण्ड आधारित अफ्लाटोन इन्टरनेसनल सन् १९९१ मा मुम्बई, इन्डियामा स्थापना भएयता निरन्तर रूपमा वित्तीय साक्षरतासम्बन्धी पाठयक्रम विकासको क्षेत्रमा विश्वव्यापी रूपमा नेतृत्व गर्न सफल संस्था हो । यसले विश्वभरीका युवा तथा बालबालिकाहरूका लागि सामाजिक शिक्षा तथा वित्तीय साक्षरताको अवसर प्रदान गर्दै आइरहेको छ । विभिन्न ३५ मुलुकका सरकार एवं २ सय ७५ वटा साझेदार सहितको मजबुत सञ्जालमार्फत यो संस्थाले वार्षिक १०० भन्दा बढी राष्ट्रका ८६ लाखभन्दा बढी युवा तथा बालबालिकाहरूमा पहुँच पु¥याई उनीहरूलाई सामाजिक शिक्षा तथा वित्तीय साक्षरतामा शिक्षित बनाउँदै आइरहेको छ । यो संस्थाले विभिन्न उमेर समूहका मानिसहरूको स्थानीय विशिष्ट आवश्यकताअनुसारका उच्च स्तरीय पाठ्यक्रमको विकास गर्दै आइरहेको छ ।