कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
445

राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरूलाई कुल ऋण लगानीको १० प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो


चालू आर्थिक वर्षको वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा १ खर्ब ८० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । गत आवको यसै अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ लगानी गरेकोमा एक वर्षको अवधिमा यस क्षेत्रको ऋण ५२ अर्ब रुपैयाँ थपिएको हो ।

कृषिमा लगानी गनुपर्ने बाध्यकारी व्यवस्थाका साथै व्यावसायिक कृषिमा सर्वसाधारणको आकर्षण बढेकाले पनि कृषि क्षेत्रमा बैंकहरूको लगानी वृद्वि भएको हो । यसैगरी सरकारले कृषि कर्जामा दिने ब्याज अनुदानका कारण पनि कर्जा प्रवाह बढेको हो ।
कृषिको लगानी बढाउनका लागि राष्ट्र बैंकले बैंकहरूले कृषिजन्य प्रशोधन कारखानामा भएको लगानीलाई पनि कृषि ऋणमा गणना गर्न पाउने व्यवस्था गरेको छ । यही व्यवस्थाका कारण पनि कृषि ऋण वृद्धि भएको देखिएको छ ।
राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरूलाई कुल ऋण लगानीको १० प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो । तर, बैंकहरूले कृषि क्षेत्रमा ऋणको माग नभएको गुनासो गरेपछि १० प्रतिशत लगानी गर्नुपर्ने समयसीमा पुससम्म थपेको थियो । तर, अझै तोकिए अनुसार बैंकहरूको लगानी पुगेको छैन ।
राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले कृषि क्षेत्रमा कर्जा बढाउन प्राथमिकता दिएको बताए । “कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ भनेर नीतिगत व्यवस्था गरेका छौं,” उनले भने, “सोही अनुसार कर्जा पनि बढिरहेको छ ।” कृषिमा बैंकहरूको लगानी विस्तारका लागि सरकारले बजेटमार्फत घोषणा गरी व्यावसायिक कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ ।
तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसैगरी गत आवमा नै केन्द्रीय बैंकले कृषि कर्जाको ब्याजमा अनुदान दिने नीतिसमेत संशोधन गरेको थियो ।
कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस व्यवस्थाअन्तर्गत मात्रै गत आवसम्ममा ५ हजार कृषकलाई ६ अर्ब ६१ करोड प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
कृषि क्षेत्रमा लगानी आकर्षित गर्नका लागि सरकारले कृषि कर्जामा ब्याज अनुदानसमेत दिँदै आएको छ । सरकारले दुई वर्षअघिको बजेटमार्फत घोषणा गरी व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान समेत दिँदै आएको छ । कृषि व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
पछिल्लो समयमा व्यावसायिक कृषिप्रति सर्वसाधारणको आकर्षण बढीरहेको र बैंकमा कर्जाको माग पनि बढेको छ । विषेशगरी व्यावसायिक तरकारी खेती, गाईपालन, माछापालन, बाख्रापालनलगायतका क्षेत्रमा लाग्ने युवा बढीरहेका छन् । युवालाई व्यावसायिक कृषिमा आकर्षित गराउनका लागि संघीय सरकारका साथै प्रदेश र स्थानीय सरकारले समेत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।