कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६
920

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मर्जरमा जाने बाध्यकारी व्यवस्था लागु गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत् लघुवित्त संस्थाहरुलाई मर्जरमा जाने बाध्यकारी व्यवस्था लागु गर्ने तयारी गरेको हो । राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपालले लघुवित्त संस्थाहरुलाई मर्जरमा जाने तयारी अवस्थामा रहन सचेत गराउदै उपयुक्त पार्टनर खोज्न निर्देशन समेत दिएका छन् ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको संख्या बर्ढौ गएपछि यस्तो नीति लिन लागेको हो । हाल नेपालमा वाणिज्य बैंक २८ वटा, विकास बैंक ४४ वटा, वित्त कम्पनी ३० वटा र लघुवित्त संस्था ५१ वटा गरी कूल बैंक तथा वित्तीय संस्था १५३ वटा रहेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित लघुवित्त संस्थाको मर्जर र आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत् मर्जरमा जाने तयारी गरेको भन्दै एक महिना भित्र उपयुक्त पार्टनर खोज्न सचेत समेत गराए । उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टे वा पुर्याउने उद्देश्यका साथ लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक रहेको बताए । उनले मौद्रिक नीतिमाफत् मर्जरमा जान बाध्यकारी व्यवस्था लागु गर्न लागेको भन्दै त्यसपछि हार गुहार गर्नु भन्दा अहिले नै उपयुक्त पार्टनर खोजेर मर्जरमा जान निर्देशन समेत जारी गरेका छन् ।
अन्तराष्ट्रिय मुद्रा कोषले बैंक तथा वित्तीय संस्थाको चुक्तापुंजी बढाउँन र संख्या घटाउन राष्ट्र बैंकलाई बुझाएको प्रतिबेदन अनुसार नै आफले यस्तो नीति लिएको गभर्नर नेपालको भनाइ छ । उनले राष्ट्र बैंकले हावाको भरमा नीति नल्याउने तथा नीति ल्याएपछि पछि हट्दैन पनि स्पष्ट पारे ।
राष्ट्र बैंकले अबको एक महिना भित्र आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।